खगोलशास्त्रीहरूको एक समूहले केबी२- १८बी नामक एक्सोप्लानेट (हाम्रो सौर्यमण्डल भन्दा बाहिरको ग्रह) मा जीवन हुनसक्ने सम्भावित संकेतहरु फेला पारेको बताएका छन् । उक्त ग्रहमा जिवन हुनसक्ने सबैभन्दा आशाजनक प्रमाण फेला परेको क्याम्ब्रिज विश्वविद्यालयले बिहीबार प्रकाशित एक अध्ययन दी एष्ट्रोफिजिकल जर्नल लेटर्स मा उल्लेख छ।

खगोलशास्त्रीहरुले हालसम्म पत्ता लगाएको तथ्यलाई बायोसिग्नेचर भनिन्छ। अर्थात् जैविक क्रियाकलापसँग सम्बन्धित अतीत वा वर्तमानमा जीवनको संकेत। यो भनेको उक्त ग्रहमा हाल वा कुनै समयमा जिवन हुनसक्ने संकेत हो। तर अध्ययनका लेखकहरू र अन्य विज्ञहरू अझै उक्त ग्रहमा जिवन हुनसक्ने कुरामा ढुक्क छैनन्। त्यसैले उनीहरुले अहिलेनै पृथ्वीबाहिर जीवनको ठोस प्रमाण पत्ता लागेको दाबी गरेका छैनन्।

जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्यूएसटी) प्रयोग गरी खगोलशास्त्रीहरूको टोलीले के२-१८बी को वातावरणभित्र रासायनिक फिङ्गरप्रिन्टहरू पत्ता लगाए हुन् । उनीहरुले डाइमेथिल सल्फाइड र सम्भवतः डाइमेथिल डिसल्फाइड रहेको पत्ता लगाएका छन् । पृथ्वीमा यी दुई अणुहरू केवल सूक्ष्मजीवहरू र समुन्द्री जीवमा पाईन्छ । विशेषगरी समुद्री फाइटोप्ल्यांकटनले यो रसायन उत्पादन गर्छन्।

अध्ययनका प्रमुख लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ एस्ट्रोनोमीमा एस्ट्रोफिजिक्स र एक्सोप्लानेटरी साइन्सका प्राध्यापक निक्कु मधुसूदनका अनुसार के२ -१८ बी, पृथ्वीबाट १२४ प्रकाशवर्ष (प्रकाशले एक बर्षमा पार गर्ने दुरी) टाढा छ । सम्भावित रूपमा यो एक हाइसियन ग्रह हुनसक्छ । हाइसियन एक यस्तो बस्न योग्य ग्रह जुन पूरै तरल पानीले ढाकिएको हुन्छ र जसको वातावरण पर्याप्त मात्रामा हाइड्रोजन हुन्छ । मधुसूदन र उनका सहकर्मीहरूले सन् २०२१ मा पहिलो पटक हाइसियन संसारको अवधारणा प्रस्ताव गरेका थिए । त्यतिबेला उनको टोलीले के२-१८बी मा तरल पानीका महासागरहरू हुन सक्ने अनुमान गरेका थिए।

यो ग्रह आफ्नो ताराको बस्न योग्य क्षेत्रमा अवस्थित छ । जसको अर्थ, ग्रह त्यति टाढा र त्यस्तो तापक्रममा छ जहाँ सतहमा तरल पानी हुनसक्छ । जस्तो, पृथ्वी सुर्यभन्दा त्यति टाढा छ जहाँ पानी तरल रुपमा रहन्छ। केबी२-१८बी पृथ्वीभन्दा ८.६ गुणा भारी र २.६ गुणा ठूलो छ।

‘हाइसियन संसारमा डीएमएस र डीएमडीएस जस्ता सल्फर-आधारित ग्यासहरूको उच्च मात्रामा रहेको अघिल्लो अध्ययनले देखाएका थिए’, मधुसूदनले भने, ‘अहिले हामीले त्यही कोणबाट अवलोकन र अध्ययन् गरिरहेका छौँ। हामीलाई यो ग्रहका बारेमा थाहा भएका सबै कुरालाई हेर्दा, जीवनले भरिएको एक महासागरसहितको हाइसियन संसार नै हामीसँग उपलब्ध डाटासँग सबैभन्दा राम्रो मेल खाने देखिन्छ।‘

मधुसूदनका अनुसरा यी अणुहरू कुनै अर्कै अज्ञात रासायनिक प्रक्रियाबाट पनि उत्पन्न हुन सक्छन्, जसमा जीवन आवश्यक नपर्न सक्छ।

यी नयाँ खोजहरूले यसअघि गरिएको अनुसन्धानलाई अगाडि बढाएका छन् । जसमा सोही समूहले वेबको (नियर- इन्फ्रारेड इमेज एन्ड स्लाइटलेस स्पेक्ट्रोग्राफ तथा नियर- इन्फारेड स्पेक्ट्रोग्राफ) प्रयोग गरेर ग्रहको वायुमण्डलमा कार्बन डाइअक्साइड र मिथेन पत्ता लगाएका थिए । नयाँ पत्ता लगाइएको तथ्य वेबको मिड इन्फारेड स्पेक्ट्रोग्राफ प्रयोग गरेर गरिएको हो।

‘यो स्वतन्त्र प्रमाण हो, अहिलेको अवलोकन पहिलेको अवलोकनहरूसँग कुनै ओभरल्याप छैन,’ मधुसूदनले भने, ‘सिग्नल बलियो र स्पष्ट देखिन्छ।’

तर मधुसूदन र उनका सहलेखकहरू भन्छन् कि पृथ्वीबाहिर जीवन रहेको पक्का प्रमाण दाबी गर्नुअघि अझ धेरै डाटा आवश्यक छ। उनीहरूको विश्वास छ कि वेबद्वारा १६ देखि २४ घण्टासम्मको थप अवलोकनले त्यस सम्भावना नजिक पुर्याउन सक्छ।

‘हामी आफ्नै नतिजामा गहिरो शंकासहित हेर्नु महत्त्वपूर्ण छ, किनकि परीक्षण र पुनःपरीक्षणमार्फत मात्र हामी त्यस बिन्दुमा पुग्न सक्छौं जहाँ हामी निश्चित हुन सक्छौं,” मधुसूदनले भने। “यस्तै प्रकारले विज्ञान अगाडि बढ्छ।

तर अन्य विशेषज्ञहरू भन्छन् यी संकेतहरु उत्साहजनक छन्। पृथ्वीबाहिर जीवनको अस्तित्व पुष्टि गर्न र के२-१८बी कस्तो प्रकारको ग्रह हो भनेर निर्धारण गर्न अझ धेरै समय र डाटा लाग्नेछ ।

‘उत्साहजनक’ संकेत

मधुसूदन र उनको टोलीले अघिल्लो अवलोकनमा के२-१८बी मा एक कमजोर संकेत देखेका थिए जुन हाइसियन ग्रहको परिकल्पनासँग मेल खान सक्थ्यो।

“हामी निश्चित थिएनौं कि अघिल्लो सिग्नल डीएमएस को थियो कि थिएन, तर त्यसको झलकले हामीलाई जेम्स वेब स्पेस टेलिस्कोप जेडब्ल्यूएसटी) प्रयोग गरेर फरक उपकरणबाट पुनः परीक्षण गर्न प्रेरित गर्‍यो,” उनले भने।

यहाँ धेरै “यदि” र “तर” हरू छन्, प्रा. मधुसूदनको टोलीले खुलेरै स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । पहिलो कुरा, यो पछिल्लो खोज वैज्ञानिक रूपमा खोज दाबी गर्न पर्याप्त स्तरमा छैन उनीहरुले बीबीसीलाई बताएका छन्। त्यस्तो दाबी गर्नका लागि अनुसन्धानकर्ताहरूले आफ्ना नतिजाहरू सही छन् र संयोगले भएको होइन भन्नेमा लगभग ९९‍.९९९९९% निश्चित हुनु पर्छ । वैज्ञानिक भाषामा, यसलाई पाँच सिग्मा परिणाम भनिन्छ।

हालको नतिजा केवल तीन सिग्मा, अर्थात् ९९.७% निश्चितता भएको हो। जुन धेरै सुनिन्छ, तर वैज्ञानिक समुदायलाई विश्वस्त पार्न पर्याप्त होइन। यद्यपि, यो १८ महिना अगाडिको एक सिग्मा (६८%) को परिणामभन्दा धेरै राम्रो हो, जसलाई त्यतिबेला निकै शंका दृष्टिले हेरिएको थियो।

‘केम्ब्रिजको टोलीले पाँच सिग्मा नतिजा हासिल गरे पनि, त्यो ग्रहमा जीवनको पक्का प्रमाण भने हुने छैन। “त्यस्तो निश्चिततासँगै पनि, अझै प्रश्न उठ्छ कि यो ग्यासको उत्पत्ति के हो,” स्कटल्यान्डकी एस्ट्रोनोमर तथा एडिनबरा विश्वविद्यालयमा कार्यरत प्रा. क्याथरिन हेमन्सले बीबीसीलेलाई बताएकी छिन्।

“पृथ्वीमा यो समुद्रमा रहेका सूक्ष्मजीवद्वारा उत्पादन हुन्छ, तर अन्य ग्रहमा यस्ता अणुहरू कसरी बनेका हुन् भन्ने कुरा हामी पक्कापक्की भन्न सक्दैनौं किनभने ब्रह्माण्डमा धेरै अनौठा घटनाहरू हुन्छन्, र त्यस्तो ग्रहमा के कस्तो भूगर्भीय क्रियाकलाप भइरहेको छ भनेर हामीलाई थाहा छैन। उनले भनिन्

यो विचार केम्ब्रिज टोलीले पनि स्वीकार गरेको छ। उनीहरू अन्य समूहहरूसँग मिलेर प्रयोगशालामा डीएमएस र डीएमडीएस जैविक स्रोत बिना उत्पन्न गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छन्।

‘अहिलेसम्म अझै ०.३ प्रतिशत सम्भावना छ कि यो परिणाम केवल सांख्यिकीय संयोग हुन सक्छ,’ प्रा. मधुसूदनले भने।

अरु ग्रहमा जीवन हुन सक्ने संकेत दिनु ‘यदि सही हो भने ठूलो दाबी हो,’ उनले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भने, ‘त्यसैले हामी धेरै धेरै गम्भीर भएर थप अवलोकनहरू गर्न चाहन्छौं, र प्रमाणलाई त्यस्तो स्तरमा लैजान चाहन्छौं जहाँ संयोग मात्र हुन सक्ने सम्भावना एक करोडमा एक होस्।” उनका अनुसार, यो काम “एक वा दुई वर्षमा’ सम्भव हुन सक्छ।

अन्य अनुसन्धान समूहहरूले के२-१८बी बाट प्राप्त डेटाको वैकल्पिक, जीवनविहीन व्याख्या अघि सारेका छन् । वैज्ञानिक बहस केवल डीएमएस र डीएमडीएस त्यहाँ छन् कि छैनन् भन्नेमा मात्र होइन, ग्रहको संरचनाबारे पनि छ।

धेरै अनुसन्धानकर्ताहरूले ग्रहको वायुमण्डलमा एमोनिया नदेखिएको कारण एक विशाल तरल महासागर रहेको निष्कर्ष निकालेका छन्। उनीहरूको सिद्धान्तमा, त्यो एमोनिया पानीद्वारा अवशोषित भएको हो।

केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक ओलिभर शोर्टल अनुसार यो तरल चट्टानको महासागरद्वारा पनि व्याख्या गर्न सकिन्छ, जसले जीवनको सम्भावना समाप्त गर्छ।

“अन्य ताराहरूको वरिपरि परिक्रमा गर्ने ग्रहहरूबारे हामीलाई थाहा भएको सबै कुरा वायुमण्डलबाट परावर्तित अत्यन्त सानो प्रकाशबाट प्राप्त जानकारीमा आधारित छ। त्यसैले हामी जीवन मात्र होइन, अरू सबै कुरा बुझ्न प्रयास गर्दैछौं, त्यो पनि एकदमै कम संकेतबाट,” उनले भने।

नासाको एम्स रिसर्च सेन्टरका डा. निकोलस वोगानले यस डेटा को फरक व्याख्या गरेका छन्। उनले अनुसन्धान प्रकाशित गरेका छन् कि के२-१८बी एउटा सानो ग्यास दानव‍ हो, जसको सतह नै छैन।

यी वैकल्पिक व्याख्याहरूलाई पनि अन्य समूहहरूले जेडब्ल्यूएसटीको डेटा अनुसार उपयुक्त छैन भनेर चुनौती दिएका छन्, जसले के२-१८बी वरिपरिको वैज्ञानिक बहसलाई थप बलियो बनाएको छ।

प्रा. मधुसूदनले स्वीकार गरेका छन् कि जीवनबारेको सबैभन्दा ठूलो प्रश्नको उत्तर दिन अझै धेरै वैज्ञानिक कार्यहरू बाँकी छन्। तर उनले र उनको टोलीले सही बाटोमा लागेको विश्वास गरेका छन्।

“दशकौं पछि हामी यो क्षणलाई फर्केर हेर्दा ‘ब्रह्माण्डमा जीवन नजिकै पुगेको समय’ भनेर सम्झिन सक्छौं,” उनले भने।

“यो एउटा यस्तो मोड हुन सक्छ, जहाँ हामीले ‘के हामी ब्रह्माण्डमा एक्ला हौं?’ भन्ने मौलिक प्रश्नको उत्तर दिने क्षमतामा पुगेका छौं।”

जीवनको सीमा

नयाँ पेपरका अनुसन्धानकर्ताहरू भन्छन् कि अवलोकनले तीन-सिग्मा स्तरको विश्वसनीयता प्राप्त गरेको छ, जसको अर्थ, ‌०.३ प्रतिशत सम्भावना छ कि परिणाम संयोगवश प्राप्त भएको हो। वैज्ञानिक खोजको लागि सामान्यतः पाँच-सिग्मा (०.००००६ प्रतिशत) स्तरको विश्वसनीयता आवश्यक हुन्छ।

यद्यपि पत्ता लगाइएको प्रमाण स्पष्ट डीएमएस र डीएमडीएसको पहिचान होइन, “यो सहि दिशातर्फको एक कदम हो,” लन्डनको इम्पेरियल कलेजका खगोलशास्त्री डा. डेविड क्लेमेन्सले सिएनएन्सँग भने, जो यो अनुसन्धानमा संलग्न थिएनन्।

मधुसूदनको विश्वास छ कि उनको टोलीको खोज “हाम्रो जीवनको खोजीमा एक ठूलो माइलस्टोन हो,” र यसले नयाँ युगको सुरुवात गर्छ।

“मेरो दृष्टिमा, यदि त्यहाँ जीवन छ भने हामी त्यसलाई पत्ता लगाउनेछौं भन्नेमा अब शंका छैन,” उनले भने। “हामीले प्रारम्भिक उपलब्ध तथ्यांकहरूबाट पर्याप्त विश्वसनीयतामा यो सम्भावना देखाएका छौं। मलाई लाग्छ अझ ठूलो प्रश्न यो हो—के हामी एक प्रजातिका रूपमा हामीलाई थाहा नभएको जीवन पत्ता लगाउने तयारीमा छौं? हामीले समाजका रूपमा, प्रजातिका रूपमा आफूलाई सोध्नुपर्नेछ: अरू ठाउँमा जीवन के हो?”

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार