झापा । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले राजतन्त्र पुनर्स्थापित गर्न चाहनेहरूप्रति कडा चेतावनी दिएका छन्। आइतबार बिहान नेपाल विद्यार्थी संघ झापाले भद्रपुरमा आयोजना गरेको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज विश्वासको स्मृति सभामा बोल्दै सिटौलाले राजावादीहरू ‘पानीको माछालाई बालुवामा राखेझैँ छटपटाइरहेको’ बताए।
“दरबार वरिपरि बसेर मस्ती गर्ने जमाना गयो, अब त्यो समय फर्कँदैन,” सिटौलाले भने, “राजतन्त्र फर्काउने सपना नदेख्नुस्, आफ्नो काल आफै निम्त्याउने काम नगर्नुहोस्।”
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रत्यक्ष प्रश्न उठाउँदै सिटौलाले भन्नुभयो, “तपाईं अब अन्तिम राजा हो। उक्साउनेहरूको पछि लाग्नुभयो भने उनीहरूले तपाईंलाई खाडलमा फाल्नेछन्।”
सिटौलाले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था अहिले देशमा मजबुत रूपमा स्थापित भएको उल्लेख गर्दै भने, “गणतन्त्र नचाहिनेहरू अहिले पनि सत्ता, भत्ता र मन्त्रीजस्ता पदको लाभ लिइरहेका छन् तर ढलेको दरबारको चाकडी गर्न पछि परेका छैनन्।”
उनले इतिहास स्मरण गराउँदै भने, “राजा वीरेन्द्रको वंश समाप्त भएपछि ज्ञानेन्द्र राजा बने। तर धेरै समय नलागी उनी पनि महेन्द्रपथतिर फर्किए। जनताले त्यो व्यवस्था ढालेर आजको लोकतन्त्र र गणतन्त्र ल्याएका हुन्।”
दलित समुदायको सन्दर्भ उल्लेख गर्दै सिटौलाले भने, “राजाहरूको पालामा कहिल्यै दलित अफिसर बन्ने सुनिएको थिएन। तर अहिलेको लोकतान्त्रिक व्यवस्थामा दलितसहित सबै समुदायका व्यक्ति समान अवसर पाउँदै आएका छन्।”
सभामा उनले सबैलाई लोकतान्त्रिक गणतन्त्रको मूल्य र उपलब्धिको रक्षा गर्न आह्वान गर्दै विगतमा फर्किन खोज्नु देश र जनताको हितमा नहुने स्पष्ट पारे।