ताप्लेजुङ, वैशाख ९ । ताप्लेजुङ जिल्लाबाट पाथिभरा मन्दिर जाँदै गरेको यात्रुबाहक गाडीमा विद्युत् सर्ट भई आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–१० गुन्द्रे र तेर्सेको छेउको सडकमा अचानक बिजुलीको तार खस्दा मे १ ज ३०११ नम्बरको गाडीमा आगो लागेर यो दुःखद घटना घटेको हो।
मृत्यु हुनेमा गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन्। घटनास्थलमै ज्यान गुमाएका यी चारै जना एकै गाडीमा यात्रा गरिरहेका थिए।
गाडीमा रहेका अन्य दुई जना यात्रुहरू – ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार, मृतक आध्या आचार्य घाइते सविनाकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका आमा-बुबा हुन्।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्टका कारण दुर्घटना भएको अनुमान गरिएको छ। स्थानिय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको छ।