इलाम, वैशाख ९ । इलाम बजारका एक १३ वर्षीय बालकको व्यवहारमा आएको अप्रत्याशित परिवर्तनले अभिभावकलाई चकित बनाएको छ। विद्यालय बन्द भएपछि साथीभाइसँग फुटबल खेल्न गएको बताउने बालक लागुऔषधको कुलतमा फसेको थाहा पाएपछि परिवारमा त्रास फैलिएको छ। बालककी हजुरआमाले भनिन्, “विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ।”

वैशाखसँगै नयाँ शैक्षिक सत्र सुरु भएको भए पनि सामुदायिक विद्यालयहरू अझै सञ्चालनमा आएका छैनन्। शिक्षक आन्दोलनका कारण विद्यालयहरू बन्द छन् भने बालबालिका घरमै बस्न बाध्य छन्। अभिभावकहरू बालबालिकाको भविष्यमा चिन्तित छन्।

सूर्योदय नगरपालिका–७ का स्थानीय गणेश भट्टराईले भने, “विद्यालय नहुँदा बच्चाहरू गलत क्रियाकलापमा लाग्न थालेका छन्। गाउँघरमा पनि लागुऔषधको प्रयोग बढ्दै गएको देखिन्छ।”

मानवअधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माका अनुसार जिल्लामा बालबालिका र किशोरावस्थाका युवाबीच लागुऔषध प्रयोग खतरनाक रूपमा बढ्दैछ। “बालबालिका कुलतमा फसेको देखेमा सचेत नागरिकले प्रशासन र प्रहरीलाई खबर गर्नुपर्छ,” उनले भने।

हिमालय माविका शिक्षक गणेशकुमार खड्काले शिक्षकको माग पुरा गरेर विद्यालय तत्काल खोल्न आग्रह गरे। “शिक्षक सडकमा हुँदा बालबालिका बिचल्लीमा परेका छन्,” उनले भने।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले भने प्रहरीले लागुऔषध नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। “विद्यालय र सार्वजनिक स्थलहरूमा यस्ता कार्यक्रम भइरहेका छन्, साथै लागुऔषध भित्रिन नदिन पनि प्रहरी सधैँ सतर्क छ,” उनले बताए।

शिक्षा प्रणालीको अनिश्चितता र सामाजिक वातावरणको जोखिमले गर्दा अहिले अभिभावक, शिक्षक र सरोकारवालाहरू बालबालिकाको भविष्यप्रति गम्भीर चिन्तित बनेका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार