झापा, ९ वैशाख । हिजो राती १०:१५ बजेको समयमा झापा जिल्ला, बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित किरातचोकमा रहेको क्षितिज महिला विकास समाज सुधार केन्द्रमा बस्दै आएकी एक महिलाको मृत्यु भएको छ।
जिल्ला इलाम, इलाम नगरपालिका वडा नं. ४, बरबोटे घर भई हाल विगत तीन महिनादेखि सुधार केन्द्रमा बस्दै आएकी वर्ष अन्दाजी ५० की जिवनकला काफ्ले ट्वाईलेट जाने क्रममा लडेपछि बेहोस भइन्।
उनी बेहोस भएपछि सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले उनलाई तत्काल मनमोहन अस्पताल पुर्याएकी थिइन्। सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई बिर्तामोडस्थित B&C अस्पताल लगिएको थियो। तर, अस्पतालमा लगिएको केही समयमै, राती १०:५५ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कानुनी प्रक्रिया पुरा गरी मृत शरीरलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। यस घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।