– नारायणबहादुर बस्नेत 

नेपालको कम्युनिष्ट आन्दोलन कुनै बेला सर्वहारा वर्गको मुक्ति, समाजवादको स्थापनाको सपना र राष्ट्र निर्माणको सशक्त वैचारिक आधारको रूपमा देखा परेको थियो। तर आजको यथार्थ के छ? सत्ता प्राप्तिका लागि भद्दा आरोप–प्रत्यारोप, अपमानजनक भाषा प्रयोग, गुटबन्दी र वैचारिक विचलन। एउटा पार्टीका नेताले अर्को पार्टीका नेतालाई जनतासामु गाली गलौच गरेर आफ्नो समर्थन जुटाउने असफल प्रयास गर्दैछन्।

नेताको भाषा, कार्यकर्ताको लाज

कम्युनिष्ट विचारधाराले नैतिकता, अनुशासन र वर्गीय चेतनालाई उच्च स्थान दिएको थियो। तर, आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनमोर्चा लगायतका नेताहरूले सार्वजनिक मञ्चमा प्रयोग गर्ने भाषा सुनिँदा लाग्छ — विचार होइन, व्यक्तिगत रिसइबीको राजनीति चलेको छ।

हालका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक सार्वजनिक रूपमा चरित्र हत्या हुने किसिमका अभिव्यक्ति आएका छन्। यस्ता अभिव्यक्तिले विचार होइन, इगोको टकराव प्रष्ट पार्दछ। जब नेता आफूलाई ‘क्रान्तिकारी’ भन्छन् तर बोल्ने शैली “सडकिया” हुन्छ, तब जनता चुपचाप हेरिरहन्छन् — र आशा गुमाउँदै जान्छन्।

वाकयुद्धको राजनीति

माधवकुमार नेपालले केपी ओलीप्रति “सर्वसत्तावादी प्रवृत्तिका मालिक” को आरोप लगाउँदा, ओलीले जवाफमा “गद्दार, पदको लागि पार्टी बेच्नेहरू” भन्दै जवाफ फर्काए। प्रचण्डसँग पनि ओलीको वाकयुद्ध बारम्बार देखिएको छ — जसमा कहिले “कायर”, कहिले “झुटको पुलिन्दा” जस्ता शब्दहरू प्रयोग गरिएका छन्। झलनाथ खनालले पनि “पार्टी फुटाउनेहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन” भन्दै कटाक्ष गरेका छन्। यस्तो वाकयुद्ध कम्युनिष्ट विचारमा “शत्रुलाई परास्त गर्न” होइन, “साथीलाई अपमान गर्न” प्रयोग भइरहेको छ।

कम्युनिष्ट नेताहरूमा संवाद शून्यता

नेपालमा कम्युनिष्ट पार्टीहरू बीच विचार र कार्यक्रमको समन्वय गर्ने कोसिसभन्दा बढी आरोप र अपमान गर्ने प्रवृत्ति बढ्दो छ। संवाद, छलफल, बहस — यी सबै स्वस्थ राजनीतिक प्रक्रियाहरू त खत्तम भएका छन्। अहिलेको राजनीतिक व्यवहारले देखाउँछ — नेपालमा कम्युनिष्ट आन्दोलन विचारको संकटमा छ, र यो संकट भाषिक पतनबाट अझ स्पष्ट भएको छ।

जनताको प्रतिक्रिया

अहिले जनता यस्ता नेताहरूको भाषण सुन्न डराउँछन्। बालबालिकासँगै टेलिभिजन हेर्दा लाज लाग्ने अवस्था आउन थालिसकेको छ। जनता भन्ने गर्छन् — “यी त पार्टी होइन, सराप्ने प्रतियोगितामा भाग लिएको अर्थात (कम्पिटिसन) जस्तै देखिन्छ।” यस्ता प्रतिक्रियाले नेताहरूको नैतिक आधार कति खस्किएको छ भन्ने बुझाउँछ।

विचारको अन्त्य कि पुनर्जागरणको अवसर?

यो स्थितिलाई दुई तरिकाले हेर्न सकिन्छ — या त यो कम्युनिष्ट आन्दोलनको अन्त्य हो, जहाँ विचार, नेतृत्व र व्यवहार सबै खल्बलिएको छ। वा यो अवसर हो — जहाँ आत्ममूल्याङ्कन गरेर विचार, कार्यक्रम, र शैलीमा पुनर्जागरण ल्याउन सकिन्छ।

यदि वर्तमान नेताहरूले आफूभन्दा अगाडिका नेताहरू — जस्तै पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी — को शालीनता, निष्ठा र वैचारिक दृढता सम्झेर मार्गचित्र तय गरे, अझै केही सम्भावना बाँकी छ। नत्र भने, जनता अब तपाईंहरूको भाषिक तमाशा होइन, व्यवहारिक परिवर्तन हेर्न चाहन्छन्।

निष्कर्ष

कम्युनिष्ट विचारधारालाई झल्क्याउने हँसिया–हथौड़ा झण्डा मात्रै काफी छैन। जबसम्म नेताहरूले सार्वजनिक मञ्चमा आदर्श व्यवहार देखाउन सक्दैनन्, तबसम्म जनताले समर्थन गर्ने आधार हराउँछ। अबको आवश्यकता हो — विचार, भाषा, र व्यवहारको समन्वय। नत्र, ‘कम्युनिष्ट’ भन्ने नाम मात्रै बोकेर राजनीति गर्दा, त्यो जनता माथिको धोका बन्न पुग्छ। धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार