झापाको बिर्तामोडस्थित पाथीभरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले रिले अनशन शुरु गरेका छन् । क्याम्पस प्रशासनले दुईजना विद्यार्थीलाई निष्कासन गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
क्याम्पस प्रशासनले सप्तरी घर भएका लालु यादव र ताप्लेजुङ घर भएका धिरेन्द्र अधिकारीलाई लालु यादव र धिरेन्द्र अधिकारीलाई ७ दिन सम्मको लागि निष्कासन गरेको हो । यादव र अधिकारीले कम्प्युटर इन्जिनियरिङ र सिभिल इन्जिनियरिङमा पढाई राम्रो नभएको, प्राविधिक कुरामा कमीकमजोरी भएको भन्दै त्यसको व्यवस्थापन गर्न माग राखेका थिए ।
क्याम्पस प्रशासनले उक्त माग सम्बोधन गर्न बैशाख ५ गते अभिभावकसहितको बैठक राखेको थियो । माग सम्बोधन गर्नुको साटो क्याम्पस प्रशासनले यादव र अधिकारीलाई निष्कासन गरेको विद्यार्थीहरूले बताएका छन् । आज बिहान ११ः३० बजेदेखि अर्जुनधारा –११ स्थित पाथीभरा इन्जिनियरिङ कलेज (पाथीभरा सेन्टर फर एडभान्स स्टडी) मा उनीहरूले रिले अनशन शुरु गरेका हुन् ।
बैशाख ९ गते क्याम्पसका सञ्चालक युवराज प्रसाईँ र क्याम्पसका सिइओ अनुज पराजुलीले विद्यार्थीहरूलाई अभद्र व्यवहार र धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा क्याम्पस प्रशासनले विद्यार्थीहरूको माग सम्बोधन गरी माफी माग्नु पर्ने भन्दै क्याम्पसको गेट अगाडि रिले अनशन जारी राखेका छन् । अनशनस्थलमा नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौलाको नेतृत्वमा करिब १० जना विद्यार्थीहरू आई आन्दोलनप्रति पूर्ण समर्थन जनाएका छन् । समाचार साभार: टाईमअफप्रदेश