काठमाडौं । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि कुटपिट गरेको आरोपमा चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा बिहीबार बिहानदेखि भाइरल बनेको भिडिओमा देखिएका ती प्रहरीलाई तत्काल प्रभावले जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरी प्रवक्ता गिरीले जानकारी दिए।
प्रहरी वृत्त जनसेवामा कार्यरत ती चार जनालाई हटाई हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ। घटनाको मिति मंसिर ११ गते रहेको पुष्टि गर्दै प्रवक्ता गिरीले यस्ता घटनाले प्रहरीप्रतिको जनविश्वासमा प्रतिकूल असर पार्ने भन्दै दोषीमाथि कडाभन्दा कडा कारबाही हुने बताए।
प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धानको आश्वासन दिँदै घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। सर्वसाधारणमाथि सार्वजनिक स्थलमा कुटपिट हुनु निन्दनीय रहेको भन्दै सर्वसाधारणले ती प्रहरीमाथि कडा कदम चाल्न माग गरेका छन्।