म त मरेको नै पो छु त आजकल अचेल
म बोल्छु सास फेर्छु गर्ने गर्छु म हलचल
म चेतना भएर पनि अचेत छु आजकल
म हिड्डुल गर्छु तर म त मरेको छु अचेल!
म मरेको मृत ठाउँ नै हो म बस्ने त्यो कुर्सी
म मृत छु हिड्डुल गर्दछु मारेर नै म बुर्कुसी
कुनै पनि निर्णय नै पो गर्न सक्दिन म आफैं
किनकि म त मृत छु चेतना भएर गर्छु फुर्ति!
अरुलाई रुवाउछु हँसाउछु बेलाबेला म अचेल
मृत छु लाग्छ म बसेको ठाउँ नै कफन हो जेल
म मृत छु भोको छु भ्रष्टाचारमा पिल्त छु अचेल
म मृत छु अचेत पनि छु त्यसैले गर्छु जालझेल!
म त मृत छु सबैलाई हँसाउछु रुवाउछु डसाउछु
मृत छु मेरै पालामा भ्रष्टाचारको बस्ती बसाउछु
म त मृत छु ढुकुटीको सम्पत्ति कुम्लो कसाउछु
म त मृत छु बेलाबेला हँसाउछु बेलाबेला रुवाउछु!
म त मृत छु मृत भैसकेको छु कसैका कुरा सुन्दिन
म त मृत भैसकेको छु पाप पुण्य के हो म जान्दिन
मृत भैसकेको छु तैले कसैका कुरा सुनिनस भन्छन्
म त मृत भैसकेको छु त्यसैले कसैका कुरा मान्दिन!