हरेक वर्ष जस्तै, यस वर्ष पनि २०८२ सालको बैशाख १४ गते हामीले मातातीर्थ औंसी — जसलाई “आमाको मुख हेर्ने दिन” भनेर चिनिन्छ — मनाउन गइरहेका छौं।
यो दिन विशेषगरी आमाप्रतिको सम्मान, श्रद्धा र कृतज्ञता प्रकट गर्ने पावन अवसर हो।
जिउँदो आमाहरूलाई आजको दिन विशेष मायाले सम्झेर, मिठा कुरा सुनाएर, राम्रो भोजन अर्पण गरेर, कपडा वा अन्य मन पर्ने उपहार दिएर खुशी बनाइन्छ। आमा त सधैँ माया, त्याग र बलिदानको अर्को नाम हो। सानो छँदा स्याहार, माया र ममताले हुर्काउने आमालाई एक दिन समर्पित गरेर धन्यवाद दिन सक्नु आफैंमा ठूलो कुरा हो।
यस्तो अवसरमा केवल बाहिरी सम्मान मात्र होइन, दिलबाट कदर र माया देखाउनु नै साँचो श्रद्धा हो।
तर जसका आमा अब यो संसारमा रहनुभएन, उनीहरूका लागि यो दिन अझ विशेष र भावुक हुन्छ। आमा नभएकाहरू मातातीर्थ जान्छन्, पवित्र जलमा स्नान गरेर दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्छन्। फूल, धूप, अक्षता र दीप जलाएर आमा सम्झने चलन छ। मनदेखि सम्झिएर, पुण्य काम गरेर आमा पिताको आत्मालाई शान्ति मिलोस् भनेर प्रार्थना गरिन्छ।
हाम्रो संस्कृतिले भन्छ — “आमाको सेवा स्वर्गभन्दा ठूलो हो।”
साँच्चै, आमाले दिएको माया र जीवनको ऋण कुनै दिन पनि चुक्ता गर्न सकिँदैन। तर, श्रद्धा र कृतज्ञताको भावनाले हामी उनीहरूलाई खुशी बनाउन सक्छौं — चाहे आमा सँगै हुनुहोस् वा सदा सदा सम्झनामा बस्नुभएको होस्।
यस मातातीर्थ औंसीमा हामी सबैले संकल्प गरौं —
जिउँदो आमालाई जीबनभर माया र आदर गरौं। र दिवंगत आमालाई सदा सम्झेर पुण्य र सेवा कार्यमार्फत सम्मान गरौं।
छोटो कविता :
आमा तिमी बिना सुनसान लाग्छ,
मायाको आँगन उजाडो लाग्छ।
जीवनको बाटोमा उज्यालो तिमी,
सपना र आशाको बिहान तिमी।
जिउँदो आमालाई प्रेमको सुमन,
स्वर्गीय आमालाई श्रद्धाको उपहार।
हाम्रो श्रद्धा र मायाको अर्पण,
तिमीमा समर्पित यो जीवन सार।
नारायणबहादुर बस्नेत
मेचिनगर ८ झापा ।