झापा, २०८२ जेठ १७ । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी मण्डलबस्तीमा हिजो अपरान्ह ४:०० बजे कृष्ण मण्डलको मकैबारीमा मानव कङ्गाल फेला परेको छ। स्थानीय बासिन्दाले मानव कङ्गाल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुने बित्तिकै प्रहरीको टोली घटनास्थल पुग्दा कङ्गाल पूर्ण रूपमा सडिएर गलेको अवस्थामा भेटिएको थियो। प्रारम्भिक जानकारी अनुसार उक्त मानव कङ्गाल सोही स्थानमा अस्थायी रूपमा बसोबास गर्दै आएका भिम श्रेष्ठका छोरा, अन्दाजी ४४ वर्षीय ओम प्रकाश श्रेष्ठको भएको खुलेको छ। श्रेष्ठ मानसिक रूपमा असन्तुलित रहेको बताइएको छ।
उक्त कङ्गाल श्रेष्ठले लगाउने लुगा र पहिचान संकेत स्वरूपको माला आदिको आधारमा आफन्तहरूले सनाखत गरेका हुन्। उनी २०८२ साल जेठ १ गते घरबाट हिँडेर बेपत्ता भएका थिए भने २०८२ जेठ ३ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा परिवारले हुलिया विवरण सहित निवेदन दर्ता गराएका थिए।
घटनास्थलमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी कङ्गाललाई पोस्टमार्टमका लागि धरानस्थित घोपा अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







