काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अब गम्भीर प्रकृतिका ८ रोगका बिरामीहरूले २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी उक्त सुविधा विस्तार गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै क्यान्सर, मुटुरोग, मृगौलाको समस्या, टाउकोमा गम्भीर चोट (हेड इन्जुरी), मेरुदण्डको चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोगका बिरामीहरू लाभान्वित हुनेछन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार, “कडा रोग लागेर उपचारमा खर्च जुटाउन नसकेका नागरिकको पीडामा राहत दिने सोचका साथ हामीले यो व्यवस्था गरेका हौं।” हालसम्म स्वास्थ्य बीमाले एक लाखसम्मको उपचार सुविधा दिँदै आएको थियो।
मन्त्रालयले स्वास्थ्य बीमालाई अझ परिस्कृत बनाउँदै आम नागरिकसम्म पहुँच विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने जनाएको छ। साथै, नीति सुधारका लागि आम नागरिकबाट प्राप्त हुने सुझाव, सल्लाह र प्रतिक्रियालाई स्वागत गरिने समेत स्पष्ट गरिएको छ।








