मिति २०८२ असार २५, झापा । झापा जिल्लाको बाह्रदर्शी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३:४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक महिला र एक बालक गम्भीर घाइते भएका छन्।
राजगढतर्फबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR37AZ 6440) र विपरीत दिशाबाट आइरहेको स्कुटर (प्र.१–०१–०१६ प ९२७०) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करबाट दुबै सवारी चालक गम्भीर घाइते भई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइए पनि अपराह्न ४:४० बजे दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये एक जना कचनकवल–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् भने अर्का मृतक भारतीय नागरिक रहेको जनाइएको छ। तर, उनको विस्तृत पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा मृतक राजबंशीकी बुहारी २७ वर्षीया उर्मिला राजबंशी र उनका ३ वर्षीय छोरा आयुष राजबंशी गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ। दुवैको अवस्था गम्भीर रहेको र हाल बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय राजगढले दुबै सवारी साधन नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान र कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ।







