झापा, जलथल । हल्दीबारी गाउँपालिका–४ मा रहेको पूर्व विद्यार्थी समाज महेन्द्र मावि, जलथलले गुरु पूर्णिमाको अवसरमा शिक्षक, जग्गादाता र उत्कृष्ट छात्रालाई सम्मान गरेको छ।
कार्यक्रम हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा तथा समाजका अध्यक्ष पुष्पराज निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो।
समारोहमा विद्यालयमा लामो समयसम्म शिक्षण सेवा दिएका तथा अवकाश प्राप्त गरेका रामचन्द्र उप्रेती, गणेशप्रसाद नेपाल, जनार्दन उप्रेती र डिल्लीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो। यस्तै, विद्यालयलाई दुई बिघा १८ कठ्ठा जग्गा दान गर्ने दानवीर इन्द्रलाल राजवंशी र २०८१ सालको एसईई परीक्षामा विद्यालयस्तरमा उत्कृष्ट नतिजा ल्याउने छात्रा निशा घिमिरेलाई समेत सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, वडाध्यक्ष देवीबहादुर थापा, विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटीका जलथल उपशाखा सभापती रेमप्रसाद खरेल, सम्मानित गुरु जनार्दन उप्रेती लगायतले मन्तव्य राखेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं. ४ का अध्यक्ष शन्तु थापा मगर, जनप्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समाजका कार्यसमिति सदस्य पण्डित अर्जुन भट्टराईले वैदिक विधिअनुसार स्वस्तिवाचन गरी सुरु गरेका थिए। समाजकी उपाध्यक्ष हिमा मिश्रले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्। स्वागत मन्तव्य समाजका अर्का उपाध्यक्ष कुशवराज मैनालीले दिएका थिए भने सहजीकरण सचिव प्रल्हाद सिलवालले गरेका थिए।







