फाइल तस्वीर –
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार झापाको बुद्धशान्ति गाउँपालिका–३ मा निर्माण गरिएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ।
नेपालकी पहिलो महिला प्रधानपञ्च स्व. भागीरथा न्यौपानेको स्मृतिमा स्थापना गरिएको उक्त अस्पताल करिब ६ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका संयोजक मनोज प्रसाईंका अनुसार अस्पतालका लागि न्यौपानेका छोराछोरीहरूले १५ कठ्ठा जग्गा दान गरेका हुन्। सो जग्गामा आधुनिक सुविधासहित १० शय्याको अस्पताल निर्माण गरिएको हो।
अस्पतालमा हाल ६ जना चिकित्सक कार्यरत छन्। तीमध्ये एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्ट रहेका छन्। गाउँपालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस चिकित्सक नियुक्त गरेको जनाएको छ।
अस्पतालमा बहिरङ्ग र अन्तरङ्ग उपचार सेवा अन्तर्गत सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति सेवा, शिशु तथा बालस्वास्थ्य, दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला, फार्मेसी, एक्सरे, र मुटुको इको सेवा सञ्चालनमा छन्।
गाउँपालिका अध्यक्ष प्रसाईंका अनुसार आगामी साउन १ गतेदेखि अस्पतालमा २४ सै घण्टा आपतकालीन सेवा र बर्थिङ सेवा पनि सुरु गरिनेछ।
यसअघि पालिकाले जेठ २६ गते ‘भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरी बुद्धशान्ति राजपत्रमा प्रकाशन गरिसकेको छ। कार्यविधिअनुसार पालिकाका अध्यक्ष अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहनेछन् भने अस्पताल सञ्चालनका लागि छुट्टै कोषको समेत व्यवस्था गरिएको छ।
प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा भन्नुभयो, “सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। बुद्धशान्ति अस्पतालको सञ्चालनसँगै यहाँका नागरिकले भरपर्दो उपचार सेवा पाउनेछन्।”
प्रधानमन्त्री ओलीले स्व. भागीरथा न्यौपानेलाई समाज परिवर्तनका लागि योगदान दिने अग्रणी महिला भन्दै श्रद्धा प्रकट गर्नुभयो।
इलामसँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको यो एकमात्र सरकारी अस्पतालले झण्डै ५३ हजार जनसङ्ख्यालाई लक्षित गरी सेवा प्रदान गर्नेछ। साथै, दक्षिणी इलामबाट आउने सेवाग्राहीले समेत उपचार सुविधा पाउने छन्।







