झापा, २०८२ साउन ३२ गते । मिति २०८२ साउन २९ गते राति अन्दाजी ८:३० बजे झापा जिल्ला दमक नगरपालिका वडा नं. १०, जहदा टोलस्थित भीत्रि सडक खण्डमा स्कुटीको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा निधन भएको छ।
मे.७ प.३७८९ नम्बरको स्कुटीले पैदलयात्री, ऐऐ. बस्ने ७७ वर्षीय देब बहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै दाहिने हात भाँचिएको, दुबै खुट्टा र अनुहारमा चोट लागेर बोल्न नसक्ने अवस्थासम्म पुगेका थिए। उनलाई तत्कालै दमकस्थित निम्स अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
तर मिति २०८२ साउन ३१ गते घर लाने क्रममा अवस्था गम्भीर देखिएपछि उनलाई पुनः दमक अस्पतालमा ल्याइयो। त्यहाँ ECG गर्दा राति ८:५८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न स्कुटी चालक १६ वर्षीय अर्चन खापुङ रहेका छन्, जो तेह्रथुम म्याङलुङ स्थायी घर भई हाल दमक नगरपालिका–१० मा बसोबास गर्दै आएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।
मृतकको शव पोस्मार्टमपछि उनका छोरा सुरेश कुमार श्रेष्ठले मिति २०८२ साउन ३२ गते दिउँसो १२:४७ बजे कानुनी प्रक्रिया पुरा गरी शव बुझी लगेको प्रहरीले जानकारी दिएको छ।







