देवेन्द्र किशोर ढुङगाना । म्यानमारको सीमावर्ती क्षेत्रमा सक्रिय भारतीय विद्रोही समूहहरूलाई लक्षित गर्दै भारतीय सेनाले ठुलो ड्रोन आक्रमण गरेको छ। आइतबार बिहान सबेरै गरिएको यो कारबाहीमा अल्फा-१ (ULFA-I) र एनएससीएन–के (NSCN–K) का शिविरहरू निशानामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतका अनुसार, सेनाले सयभन्दा बढी मानव रहित यान (ड्रोन) परिचालन गरेको थियो। म्यानमारको नागा स्वशासित क्षेत्रभित्र सञ्चालन गरिएको सो अपरेसन पछिल्लो वर्षहरूमा भारतीय सेनाले गरेको सबैभन्दा ठूलो सीमा-पार कारबाही मानिएको छ।
भारतीय सेनाको कारबाहीमा अल्फा-१ का पूर्वी कमाण्ड मुख्यालय रहेको होयात र वाकथामका शिविरहरू मुख्य निशाना बनेका थिए। संगठनले विज्ञप्ति निकाल्दै हमलाको पुष्टि गरेको छ। अल्फाका अनुसार, एक वरिष्ठ नेताको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
संगठनको दाबीअनुसार, कमाण्डर नयन मेधी उर्फ ‘नयन असम’ को अन्त्येष्टि भइरहेका बेला शिविरमाथि मिसाइल प्रहार गरिएको थियो। सो क्रममा ब्रिगेडियर गणेश असम र कर्णेल प्रदीप असमको पनि मृत्यु भएको जनाइएको छ।
एनएससीएन–के का शिविरहरू पनि आक्रमणको निशानामा परेका छन्। तर, त्यतर्फको क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। भारतीय सेनाले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
सन् २००३ मा भुटानमा गरिएको ‘अपरेसन अल क्लियर’ पछि विद्रोही समूहहरूविरुद्ध भारतले गरेको यो सबैभन्दा ठूलो सैन्य कारबाही भएको बताइएको छ।
म्यानमारको सो क्षेत्र भारतीय विद्रोही समूहहरूको आश्रयस्थलको रूपमा चिनिँदै आएको छ। यो आक्रमण भारतको विद्रोहविरोधी रणनीतिमा प्रविधिमैत्री नयाँ मोड भएको संकेत गरिएको छ।
सांकेतिक तस्वीर







