काठमाडौं । काठमाडौं र चितवनका विभिन्न स्थानमा जुवातास खेलिरहेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंमा दुई र चितवनमा दुई स्थानबाट पक्राउ परेका हुन्।
काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट बिम्मासहित ५ जनालाई शुक्रबार बिहान पक्राउ गरिएको हो। प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई १ लाख ३५ हजार ३ सय रुपैयाँ नगद र २४ बुक ताससहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३१ भूपिशेरचन मार्गस्थित साबित्री श्रेष्ठको कोठाबाट पनि श्रेष्ठसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनीहरूबाट ८५ हजार ६ सय २० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको जनाएको छ।
चितवनमा भने दुई स्थानमा प्रहरीले छापा मारी १६ जनालाई पक्राउ गरेको हो। भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो। उनीहरूबाट ३८ हजार ९ सय रुपैयाँ नगद र १ बुक तास बरामद गरिएको छ।
यस्तै, भरतपुर–२ क्षेत्रपुरस्थित पदम बहादुर आलेको घरमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ५१ हजार ९ सय ९० रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको छ।







