ढडुवा युवा क्लब परिवारको सक्रिय पहलमा सञ्चालन गरिएको “बिशाल बहादुर दर्जी उपचारार्थ आर्थिक सहयोग संकलन अभियान” अन्तर्गत संकलित रकम हिजो आइतबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

क्लबका सचिव अभिषेक खतिवडाले अभियानबाट संकलित रु. १,५३,३३१/- (एक लाख तिरपन्न हजार तीन सय एकतीस रुपैयाँ) बिमारी दर्जीको सिटिजन्स बैंकको खातामा जम्मा गरिदिएका हुन्।

मृगौला रोगबाट ग्रसित हल्दिबारी–३ निवासी बिशाल बहादुर दर्जीको २०८१ चैत १५ गतेदेखि दुवै मृगौलामा समस्या देखिएपछि ललितपुरस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ। बिशालको मृगौला प्रत्यारोपण २०८२ साउन १ गते सफलतापूर्वक सम्पन्न भएको हो। प्रत्यारोपणमा बिशालकी आमा चन्द्रा दर्जीले आफ्नो मृगौला दान गरेर मातृ–माया र बलिदानको अनुपम उदाहरण पेश गरेकी छन्।

हाल पनि बिमारी बिशाल र उनकी आमालाई अस्पतालको निगरानीमा राखेर उपचार जारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। झण्डै चार वर्षअघि उच्च शिक्षा हासिलका लागि अष्ट्रेलिया प्रस्थान गरेका बिशाल दुर्भाग्यवश मृगौला रोगले ग्रसित भएपछि स्वदेश फर्किएर उपचारमा जुटिरहेका छन्।

क्लबले सञ्चालन गरेको अभियानमा साथ दिइ सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई ढडुवा युवा क्लब परिवारले हार्दिक धन्यवाद एवम् आभार व्यक्त गरेको छ।

क्लबद्वारा जारी पत्रमा उल्लेख छ:

“विशाल बहादुर दर्जी उपचारार्थ आर्थिक सहयोग संकलन अभियान मा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूप्रति हामी हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौँ।”

उक्त पत्रमा क्लबका अध्यक्ष गोपाल न्यौपाने र सचिव अभिषेक खतिवडाद्वारा हस्ताक्षर गरिएको छ, जसमा बिमारी दर्जीको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यसै सन्दर्भमा, हामी हल्दिबारी डटकम परिवारको तर्फबाट समेत बिशाल बहादुर दर्जीलाई सिघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दछौं। साथै, ढडुवा युवा क्लबको उदाहरणीय सामाजिक दायित्व बोध र सम्पूर्ण सहयोगी हातहरूप्रति गहिरो धन्यवाद एवं आभार प्रकट गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार