कमल गाउँपालिका, झापा —कमल गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र साधुहोली सिमसारमा आज ४३औं बी.पी. कोइराला स्मृति दिवसको अवसरमा वृक्षरोपण लगायतको कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कांग्रेस कमल गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न बृहत वृक्षरोपण कार्यक्रममा विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सदस्य तथा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई रहनुभएको कार्यक्रममा विशेष उपस्थिति झापा क्षेत्र नं-५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, महाधिवेशन प्रतिनिधि राजन बहादुर ढुङ्गाना, पूर्व केन्द्रीय सदस्य दिलिप राई, नेपाल लोकतान्त्रिक खेलकुद संघ झापा सचिव रोशन दाहाल, नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरू तथा पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थिए।
वक्ताहरूले कार्यक्रमलाई सम्बोधन गर्दै बीपी कोइरालाको बहुआयामिक योगदान विशेषगरी साहित्य र लोकतान्त्रिक राजनीतिमा पुर्याएको योगदानको स्मरण गराएका थिए। उनीहरूले विपिको आदर्श र मार्ग अनुसरण नगरी कांग्रेसको नाम मात्रै जोगाएर सार्थकता नहुने धारणा समेत व्यक्त गरे।
कार्यक्रममा ज्यारेकान्डा, टिक लगायतका बिरुवाहरू रोपिएका थिए भने साधुहोली सिमसारको सरसफाइ र व्यवस्थापनको लागि डस्टबिनहरू समेत राखिएको थियो। पर्यावरण र पर्यटन विकासको लक्ष्यलाई ध्यानमा राख्दै गाउँपालिकाले सिमसारको पूर्वाधार विकास योजनामा विशेष ध्यान दिइरहेको बताइएको छ।
कार्यक्रमको सभापतित्व कांग्रेस कमल गाउँपालिका सभापति खगेन भण्डारीले गर्नुभएको थियो। स्वागत मन्तव्य पदम निरौलाले प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण खेम खनालले गर्नु भएको थियो।







