झापा, ८ साउन। अबदेखि कुनै पनि घटनामा पक्राउ परेका व्यक्तिको तस्बिर वा भिडिओ सार्वजनिक गर्न नपाइने भएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका सबै प्रहरी युनिटलाई यस्तो कार्य नगर्न स्पष्ट निर्देशनसहित परिपत्र पठाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पत्रकार सम्मेलन वा सूचना प्रकाशनका क्रममा पक्राउ परेका व्यक्तिको अनुहार देखिने तस्बिर तथा भिडिओ सार्वजनिक नगर्न निर्देशन दिइएको हो।
प्रवक्ता घिमिरेले बताएअनुसार, महान्यायाधिवक्ताको कार्यालयको निर्देशनका आधारमा उक्त निर्णय गरिएको हो। “गएको असारमै महान्यायाधिवक्ताको कार्यालयबाट यस्तो निर्देशन आएको थियो,” उनले भने, “सोही निर्देशनको कार्यान्वयनका लागि हामीले परिपत्र पठाएका हौं।”
उनका अनुसार, राज्य वा समाजमा गम्भीर असर पार्ने प्रकृतिका जघन्य अपराधका घटनामा भने सम्बन्धित निकायको अनुमति लिएर मात्र तस्बिर वा भिडिओ सार्वजनिक गर्न सकिने प्रावधान राखिएको छ।
यसअघि प्रहरीले विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक स्थानमा पत्रकार सम्मेलन गरेर तस्बिर तथा भिडिओसहित प्रस्तुत गर्ने अभ्यास गर्दै आएको थियो।
तर, यो निर्देशनसँगै व्यक्तिको गोपनीयता, मानवीय अधिकार र निष्पक्ष छानबिन प्रक्रियालाई ध्यानमा राख्दै प्रहरीको कार्यशैलीमा महत्वपूर्ण परिवर्तन आउने देखिएको छ।







