भक्तपुर, साउन ८ । भक्तपुरको बोडे, सिन्टिटारस्थित एक घरको भुईँतलामा बिहीबार बिहान ६:४५ बजे एकैसाथ झुन्डिएको अवस्थामा दुई किशोरी फेला परे। १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल नामक यी दिदीबहिनीले आत्महत्या गर्नु अघि आफ्नै मोबाइल प्रयोग गरी आत्महत्याको तयारीको फोटो र भिडियो बनाएर टिकटकमा अपलोड गरेका थिए।

उनीहरूले एउटै डोरीको पासो लगाउँदै सेल्फीमोडमा फोटो खिचेका थिए। भिडिओमा बजिरहेको गीत थियो — ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’। उक्त भिडिओ टिकटकमा पोस्ट भएको केहीबेरमै उनीहरू अफलाइन भएका थिए।

दुवै जना केही महिनाअघि भारतबाट आफन्तलाई केही नबताई भागेर काठमाडौं आएका थिए। बाबुआमा भारतमा मजदुरी पेशामा छन्। काठमाडौंको कलंकीमा रहेकी आफन्तकोमा केही समय बसेपछि उनीहरू भक्तपुर झरेका थिए।

घटनास्थलबाट बरामद मोबाइलमा उक्त टिकटक भिडियो भेटिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले मोबाइलबाटै उनीहरूको पहिचान खुलेको र त्यसमा आधारित भएर परिवारलाई खबर गरिएको जानकारी दिए। मोबाइल हाल सिल गरिएको छ।

दुई छोरी एकैसाथ हराएपछि भारतमा परिवारले खोजी गरिरहेका थिए। आत्महत्याको खबर पाएपछि बाबुआमा तत्काल नेपाल फर्किँदै छन्। शव बुझ्न मृतककी कान्छीआमा बोडे पुगेकी छिन्।

आत्महत्याअघि फेसबुकमा बाबुको मोबाइल नम्बर राखिएको भेटिएको छ। अनुसन्धानका क्रममा पत्ता लागेको अर्को तथ्य यो हो कि उनीहरूले सामाजिक सञ्जालबाट आफ्ना अधिकांश आफन्तलाई ब्लक गरेका थिए।

एकैसाथ दुई किशोरीको यस्तो दर्दनाक अन्त्यले समाजलाई स्तब्ध बनाएको छ। किशोर मनको बुझाइ, सामाजिक सञ्जालको असर र परिवारको साथको महत्त्वबारे गम्भीर बहसको आवश्यकता यस घटनाले औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार