इलाम, साउन ९ । इलाम जिल्लाको रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ्ग सामुदायिक बन लगायतका वनक्षेत्रहरूबाट प्रहरीकै मिलेमतोमा झापातर्फ काठ तस्करी हुँदै आएको खुलासा भएको छ। तस्करीविरुद्ध आवाज उठाउँदै स्थानीय सचेत युवाहरूले हिजो बिर्तामोडमा पत्रकार सम्मेलन गरी घटनाको पर्दाफास गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले उपभोक्तालाई राहत स्वरूप वितरण गरिएको काठ समेत प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको जनाएका छन्। उनीहरूले यसअघि पनि तस्करी रोक्न प्रयास गरे तापनि प्रहरीकै संलग्नताका कारण उल्टै आफूहरूलाई धम्की र झुटा मुद्दामा फसाउने प्रयास भएको आरोप लगाए।
गत साउन ३ गते बिहान स्थानीय युवाहरूको सक्रियता र सशस्त्र प्रहरी बल अर्जुनधाराको सहयोगमा अर्जुनधारा–१ मा मे १ ज ११६५ नम्बरको पिकअप गाडीमा लोड गरिएको ३८.४८ क्युफिट सखुवाको चिरान काठ बरामद गरिएको थियो। बरामद काठ प्रहरीलाई जिम्मा लगाइएको भए पनि त्यसपछि तस्करीमा संलग्नहरूलाई उन्मुक्ति दिन र बरामद गाडी छुटाउने खेल सुरु भएको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ।
यस घटनामा बर्फल्याङ्ग प्रहरी चौकीकी असई छत्रा श्रेष्ठ, केही राजनैतिक दलका नेताहरू र बर्फल्याङ्ग सामुदायिक बनका पूर्व अध्यक्ष लक्ष्मीकान्त घिमिरेको समेत संलग्नता रहेको आरोप लगाइएको छ। घिमिरेले आफू ठूला नेताहरू र शक्ति केन्द्रसँग नजिक भएको भन्दै यस्ता घटनाले केही असर नगर्ने भनाइ दिएका थिए, जसले युवाहरूलाई थप सशंकित बनाएको जनाइएको छ।
स्थानीयहरूले जिल्ला प्रहरी कार्यालय इलाम र सब डिभिजन बन कार्यालय सुरुङगाले समेत गम्भीर चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूको भनाइ छ, “हामी गाउँमा विभिन्न पेशा व्यवसायमा लागेका नागरिक हौं, तर तस्करीको विरोध गर्दा ‘तिमीहरूले केही गर्न सक्दैनौ’, ‘हामीसँग पावर छ’, ‘विरुद्ध लाग्नेहरूलाई फसाउँछौं’ भन्ने चेतावनी आउने गरेको छ।”
युवाहरूले यतिका दिनसम्म असई छत्रा श्रेष्ठमाथि कुनै छानबिन नहुनु, तस्करीमा संलग्नको धरपकड नहुनु र सामुदायिक बनको चासोको कमीले तस्करीको जालो धेरै माथिसम्म फैलिएको आशंका गरेका छन्। पत्रकारहरूलाई स्थलगत अध्ययन गरी सम्बन्धित निकायको जवाफदेही माग्न पनि उनीहरूले आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमा दिनेश लामिछाने, नारदमणि दाहाल, कर्णबहादुर खड्का, सुशन विष्ट, कमल श्रेष्ठ, राम खड्का, मदन कार्की, तेजकुमार आचार्य, राजन गुरुङ (टार्जन), भवानी अधिकारी, श्याम ढकाललगायतका सचेत स्थानीय युवाहरूको उपस्थिति रहेको थियो।







