झापा, २०८२ साउन ९ । झापा जिल्लाको मेचिनगर नगरपालिका–९ झोडा क्षेत्रमा कोशी प्रदेश प्रहरी कार्यालयको केनाईन (K9) शाखा, धरान सुनसरीबाट खटिएको डग स्नापिङ टोलीले लागुऔषध नियन्त्रण तथा सम्भावित अपराध रोकथामको उद्देश्यले विशेष अपरेशन सञ्चालन गरेको छ।
प्रहरी स्रोतका अनुसार साउन ८ गते, साँझ ५ बजे दुईवटा तालिमप्राप्त कुकुरमार्फत निम्न स्थानहरूमा डग स्नापिङ (सुँघेर अनुसन्धान) गरिएको थियो:
१. मेचिनगर नगरपालिका–९, झोडा, लिलाबस्ति, खुट्टिडाँगि क्षेत्र
२. मेचिनगर नगरपालिका–१०, पाथीभरा टोल, खयरडाँगि, दनुवार बस्ति क्षेत्र
डग स्नापिङ कार्यका क्रममा लागुऔषधको कारोबार तथा सेवनमा संलग्न रहेका ३ जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरू यसप्रकार छन्:
१. रोशन डाँगी, २४ वर्ष, झोडा निवासी – ट्रामाडोल नामक लागुऔषधका ६८ क्याप्सुलसहित फेला परेका।
२. अर्जुन दर्जी, २२ वर्ष, झोडा निवासी – लागुऔषध सेवनकर्ता।
३. रविन राजबंशी, २८ वर्ष, लिलाबस्ति निवासी – ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ १.४२० ग्राम (प्लास्टिकसहित) र प्लास्टिक बाहेक १.१९० ग्रामसहित फेला परेका।
पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय, धुलाबारी झापामा ल्याएर आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले अपराध नियन्त्रण तथा लागुऔषध विरुद्धको अभियानलाई थप सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।







