झाप — झापाका २६ वटा रेडक्रस उपशाखामध्ये पछिल्लो चरणमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा लखनपुरले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
स्थापनाकै केही वर्षभित्र उपशाखाले दुई तले आधुनिक भवन, कम्पाउन्डसहितको कार्यालय संरचना निर्माण गर्नुका साथै, नमूना प्रयोगशाला सेवा सञ्चालनमा ल्याएर नयाँ कीर्तिमान कायम गरेको छ।
उक्त प्रयोगशालामा रगत सम्बन्धी सबै प्रकारका परीक्षण (ब्लड सुगर, एचबी, प्लेटलेट्स, ब्लड ग्रुप, आदि) अत्यन्त सुलभ दरमा—अन्यत्रभन्दा ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ। साथै, दिशा–पिसाब (urine/stool) जस्ता अन्य स्वास्थ्य परीक्षण सेवाहरू पनि सुरु गरिएको छ।
संस्थाले दुई वटा एम्बुलेन्स सेवा समेत उपलब्ध गराएको छ, जुन विभिन्न सामाजिक दाताबाट प्राप्त भएको बताइएको छ।
यस अतिरिक्त उपशाखाले नियमित रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, स्वच्छता अभियान, विपद् पूर्वतयारी तालिम, जस्ता थुप्रै सामाजिक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ।
उपशाखाले संघीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकार, विभिन्न संघ–संस्था र जनसमुदायसँग उत्कृष्ट समन्वय गर्दै आएको छ। यसैको परिणामस्वरूप आज यो उपशाखा झापाको नमूना रेडक्रस शाखा बन्न पुगेको हो।
यस अद्भुत प्रगतिपछि रेडक्रस झापा र आसपासका स्थानीयवासीले सभापति चन्द्र शाहको नेतृत्वमा रहेको टिमलाई हार्दिक बधाई, आभार र अभिनन्दन प्रकट गरेका छन्।
रेडक्रसको संस्थागत इतिहासमा यति छोटो समयमै यस्तो पूर्वाधार, सेवा र जनविश्वास विकास गरेको उदाहरण विरलै देखिन्छ, जुन भविष्यमा अन्य उपशाखाहरूका लागि प्रेरणाको स्रोत बन्नेमा कुनै शंका छैन।







