झापा । नेपाल विद्यार्थी संघ (नेविसंघ) झापा शाखाले “अबको शिक्षा विधेयक कस्तो हुनुपर्छ?” भन्ने मूल विषयमा आधारित भर्चुअल वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा तीनवटा शीर्षक तय गरिएको थियो –
१. विद्यार्थीको आवाज: विद्यालय शिक्षा विधेयकलाई कसरी विद्यार्थीमैत्री बनाउने?
२. सामुदायिक विद्यालय र शिक्षा विधेयक: विद्यार्थीका पीडा वा परिवर्तन?
३. शिक्षा विधेयक र विद्यार्थी आन्दोलन: किन जरुरी छ आवाज उठाउन?
नेविसंघ झापाका अध्यक्ष सञ्जय निरौलाका अनुसार, सामाजिक सञ्जालमा नकारात्मकता मात्र होइन, सकारात्मक सन्देश प्रवाह गर्न सकिने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगीहरूले आफैँले रोजेको शीर्षकमा आधारित ३ देखि ५ मिनेटको भिडियो तयार पारी नेविसंघ झापाको आधिकारिक फेसबुक पेजमा पठाएका थिए।
प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी सहभागी हुने अवधारणासहित संकलित ४५ भिडियोमध्ये ३१ भिडियो प्रतियोगिताका लागि छनोट गरिएको प्रतियोगिता संयोजक योगेन गोदार थापाले जानकारी दिनुभयो।
भिडियो मूल्यांकनका लागि २५ अंक सामाजिक सञ्जालमा प्राप्त ‘लाइक’ र ‘भ्यू’ को आधारमा तथा ७५ अंक निर्णायक मण्डलको निर्णयका आधारमा प्रदान गरिनेछ। भिडियोमा आएको ‘लाइक’ र ‘भ्यू’ गन्ने समय साउन १२ गते राति १२ बजेसम्मको लागि मात्र मान्य हुनेछ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो स्थान हासिल गर्नेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। अतिरिक्त पाँच जना प्रतिस्पर्धीलाई सान्त्वना पुरस्कार प्रदान गरिने फोकलपर्सन खुम खड्काले जानकारी दिनुभयो।
प्रतियोगिताका भिडियो मूल्यांकन गर्न नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौँलागाईंको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिएको छ। समितिमा नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोया दाहाल र डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारी सदस्यका रूपमा छन्।
यो प्रतियोगिता नेपाली कांग्रेसका नेता तथा झापा सचिव नविन बिमलीले साउन ६ गते ४३ औं स्मृति दिवसको अवसरमा डिजिटल माध्यमबाट शुभारम्भ गर्नुभएको थियो। बिमलीका अनुसार फरक शैली र प्रविधिको प्रयोगमार्फत सामाजिक सञ्जाललाई रचनात्मक दिशातर्फ लैजान सकिने सन्देश दिनु पनि प्रतियोगिताको उद्देश्य थियो।
सरकारले संसदमा विद्यालय शिक्षा विधेयक तत्कालै दर्ता गर्ने प्रतिबद्धता जनाए पनि अझैसम्म विधेयक अगाडि नबढेकाले त्यसप्रति दबाब सिर्जना गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको नेविसंघ झापाले जनाएको छ।







