झापा, २०८२ साउन ९ गते । झापा जिल्लाको कचनकवल गाउँपालिका–४ लोधावारीस्थित क्षेत्रमा लागुऔषध (ब्राउन सुगर) को कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने २५ वर्षीय मो. सोहेल, उनकी २९ वर्षीया पत्नी तबसुम आरा, र २४ वर्षीय कचालु अन्सारीलाई नेपालतर्फ शंकास्पद रूपमा पैदल आइरहेका अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट प्लास्टिकको पोकामा लुकाइ ल्याइएको ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थको तौल गर्दा प्लास्टिक बाहेक ५८ ग्राम ४०० मिलिग्राम रहेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।







