हल्दीबारी, झापा — साउन ११ । हल्दीबारी गाउँपालिका अन्तर्गत सञ्चालित हल्दीबारी आधारभूत अस्पतालमा महिला रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ।
गाउँपालिकाको भवनमै सञ्चालनमा रहेको उक्त अस्पतालमा प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार महिला विशेषज्ञ डाक्टर गौरीशंकर झा द्वारा सेवा प्रदान गरिने भएको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रका अनुसार, महिला विशेषज्ञ सेवा सुरु भएसँगै यस क्षेत्रका आमा-दिदीबहिनीहरूलाई स्वास्थ्य जाँच तथा उपचारमा उल्लेखनीय राहत पुग्ने विश्वास लिएको बताउनुभयो।
डाक्टर झाले बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म नियमित रूपमा जेनरल चेकअप सेवा प्रदान गर्नुहुने तालिका मिलाइएको पनि अधिकृत वन महेन्द्रले जानकारी दिनुभयो।
यस सेवाको थालनीसँगै स्थानीय महिला स्वास्थ्यको पहुँच र गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।







