काठमाडौँ, साउन १२ । महिलाले प्रयोग गर्ने गर्भनिरोधक सुई सङ्गिनी कुकुरलाई लगाइने गरेको खुलासा पशु चिकित्सकहरूले गरेका छन्। पशु अधिकारको दृष्टिकोणले यो कार्य गम्भीर अपराध भए पनि सजिलो उपायका रूपमा यो सुई कुकुरमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ।

औषधी पसलमा सहजै उपलब्ध हुने र सरकारी निकायको प्रभावकारी अनुगमन नहुँदा यो गर्भनिरोधक सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख शहरहरूमा पोथी कुकुरलाई लगाइँदै आएको केन्द्रीय रेफरल पशु चिकित्सालयका डा. प्रकाश अधिकारीले बताए।

उनका अनुसार, “प्रत्येक दिन उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरसम्बन्धी समस्या देखिन्छ, जसको मुख्य कारण सङ्गिनी सुईको असर हो।”

पाठेघर समस्या र क्यान्सरको जोखिम : विशेषज्ञहरूका अनुसार सङ्गिनी सुईको प्रयोगले कुकुरको डिम्बाशयमा सिस्ट पलाउने, पाठेघर सङ्क्रमण (पायोमेट्रा), स्तन ग्रन्थीको क्यान्सर, र हर्मोन असन्तुलनका कारण तौल वृद्धि, रौँ झर्ने, भोक हराउने, रक्तअल्पता, पेट फुल्ने, र योनीबाट दुर्गन्धयुक्त फोहोर निस्किने समस्या देखा पर्ने गर्छ।

यदि समयमै शल्यक्रिया गरी उपचार नगरिए कुकुरको मृत्यु समेत हुन सक्छ। डा. अधिकारीका अनुसार लगातार दुई वा तीन पटक सुई लगाउँदा ९० प्रतिशत कुकुरमा पाठेघरको गम्भीर समस्या देखिन्छ।

अज्ञानता र प्राविधिकको भ्रामक सल्लाह : काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ। तर, धेरै कुकुरधनीले अज्ञानतावश या प्राविधिकको गलत सल्लाहमा यो सुई लगाउने गरेका छन्।

“यो सुई महिलाका लागि वैज्ञानिक रूपमा अनुसन्धान गरेर बनाइएको हो,” नेपाल भेटेरिनरी परिषद्का उपाध्यक्ष डा. मनोज शाही भन्छन्, “महिला र कुकुरको शारीरिक संरचना, तौल, र प्रजनन प्रणाली फरक भएकोले यो प्रयोग अक्षम्य लापरवाही हो।”

उनका अनुसार, “केही प्राविधिक वा व्यक्तिहरू पैसाका लागि घर घरमा गएर सुई लगाउने गर्छन्, जसले कुकुरलाई सिधै मृत्युको मुखमा पुर्याउँछ। यो तत्काल रोक्नुपर्छ।”

पशु अधिकारकर्मीको आग्रह : पशु अधिकारकर्मी मधु कट्टेलले यो कार्यलाई नैतिक र मानवीय संवेदनशीलताको गम्भीर उल्लंघन भएको बताइन्।

“पशु कल्याण मानवताको संवेदनशील जिम्मेवारी हो। मानिसको लागि बनेका औषधी र खोप पशुमा लगाउन मिल्दैन,” उनले भनिन्। “पशु पनि पीडा, डर, र दुखबाट मुक्त भएर सम्मानजनक जीवन बाँच्न पाउने हकदार छन्।”

के हो समाधान? : विशेषज्ञहरूका अनुसार कुकुरको अस्थायी गर्भनिरोधक उपाय सुरक्षित छैन। त्यसैले अनावश्यक प्रजनन रोक्नको लागि बन्ध्याकरण (sterilization) नै एक मात्र सुरक्षित र दीर्घकालीन उपाय हो।

कुकुरधनी र सम्बन्धित निकायलाई सचेत बनाउँदै डा. अधिकारीले भने, “आफ्नो सजिलोका लागि कुकुरको जीवन जोखिममा नपारौं, नत्र पशु कल्याणको सन्देश केवल नारामा सीमित हुनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार