काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा भन्दा तल्लो तहसम्म संगठन विस्तार गर्ने रणनीति अघि सारेको छ। पार्टीको चःमतीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले टोल समन्वय समूह गठन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता डा. मनिष झाका अनुसार, टोल तहसम्म संगठन विस्तार गरी सदस्यता अभियान सञ्चालन गर्ने र त्यसैअनुसार जिम्मेवारी बाँडफाँड गरिनेछ। उनका अनुसार, टोल समन्वय समूहका संयोजकहरू वडा परिषद्का सदस्य र पालिका अधिवेशनका प्रतिनिधि बन्नेछन्।
डा. झाले भने, “अबदेखि रास्वपाले टोल समन्वय समूहको अवधारणा ल्याएर वडा भन्दा तल पनि संगठन विस्तार गर्ने निर्णय गरेको छ। हरेक टोलमा सदस्यता विस्तार गर्दै एउटा जिम्मेवारी राखिनेछ।”
बैठकले रुपन्देहीमा हुन लागेको उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी, पार्टी केन्द्रीय समितिको बैठक साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय समेत गरिएको छ।
हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रुपैयाँ आर्थिक सहयोग र ३२ लाख हस्ताक्षर संकलन भइसकेको पनि प्रवक्ता झाले जानकारी दिएका छन्।
रास्वपाले टोलदेखि स्थानीय तहसम्म संगठन सशक्त पार्दै आगामी चुनावी अभ्यासमा आफूलाई मजबुत बनाउने तयारी गरिरहेको बताइएको छ।







