झापा । हल्दिबारी–५ मा रहेको धनुषा आधारभूत विद्यालयलाई सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६ थान सिलिङ फ्यान (छतमा झुन्ड्याइने पङ्खा) हस्तान्तरण गरेको छ। सिम्रिक साकोसको मुख्य कार्यालय बिर्तामोड–४ मा रहेको छ।
गर्मी मौसममा विद्यार्थीलाई सहज र स्वस्थ वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने उद्देश्यले आज एक कार्यक्रमका बीच फ्यान हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयका कार्यवाहक अध्यक्ष ओमराज राईको अध्यक्षता रहेको थियो भने हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने प्रमुख अतिथि थिए।
सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा फ्यान सहयोग गरिएको जानकारी दिए। “हामी विगतका वर्षहरूदेखि नै सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधारमा टेवा पुर्याउँदै आएका छौँ,” उनले भने, “गर्मीमा विद्यार्थी सहजतापूर्वक पढ्न सकून् भन्ने हेतुले यो सहयोग गरिएको हो।”
कार्यक्रममा सिम्रिक साकोसका जनसम्पर्क प्रमुख विजय बस्नेत, आइटी सहायक विजय पाण्डे, बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौला, हल्दिबारी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि सुमन चौधरी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक सन्तबहादुर बजिहाङले अतिथिहरूलाई स्वागत गर्दै संस्थाले दिएको सहयोगप्रति आभार व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल र संस्थाका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।







