झापा , हल्दीबारी । झापाको हल्दिबारी गाउँपालिका–३ बाघडाँडा र वडा नं. २ भेलागुडी सिमसार क्षेत्रमा आइतबार राति जंगली हात्तीको आक्रमणबाट चार घरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार मध्यरात १२:३० बजे बाघडाँडामा आएका तीनवटा हात्तीले निमाई बाँनियाको टिनको छाना र टिनको घेराबेरा भएको घर तथा खरको छाना र टिनको घेराबेरा भएको भान्साघर भत्काइ १५ हजार रुपैयाँबराबरको क्षति पुर्याएका छन्। त्यस्तै, स्थानीय हिरालाल मिश्रीको खरको छाना र बाँसको टाटीबेरा भएको भान्साघर भत्काउँदा ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, सोही रात ३ बजे भेलागुडी सिमसारमा प्रवेश गरेका हात्तीले खेम गौतमको टिनको छाना र बाँसको टाटीबेरा भएको घर खम्बासहित भत्काइ १० हजार रुपैयाँ बराबरको क्षति पुर्याएका छन्। सोही स्थानमा नरेश खड्काको इट्टा–सिमेन्टले बनेको टिनछाने घरको पूर्वपट्टिको पर्खाल भत्काउँदा उनकी पत्नी ४२ वर्षीया अम्विका खड्काको दाहिने पाखुरा र कुममा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उक्त घरमा पनि करिब १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार घटनामा जम्मा ७० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। हात्तीलाई स्थानीयवासी र नेपाल प्रहरीले जंगलतर्फ धपाएको थियो। तस्बिर – प्रफुल्ल मण्डल







