झापा , हल्दीबारी। हल्दीबारी गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा वडा नं. २ हल्दीबारी मावि चोक वरिपरिका करिब २५ वटा पसलको निरीक्षण गरिएको छ। अनुगमन टोली पुग्नेबित्तिकै केही सुन पसल र औषधि पसलले सटर बन्द गरी भागेका छन्।
पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा पुगेको टोलीले अनुगमनमा सहयोग नगरेका पसलमा सूचना टाँसेर दुई दिनभित्र पालिकामा सम्पर्क गर्न निर्देशन दिएको छ। पालिकाका एक कर्मचारीका अनुसार बिना इजाजत र मापदण्ड विपरीत सञ्चालनमा रहेका पसलहरुले कारबाहीको डरले यस्तो गरेको हुनसक्छ। ती सटर बन्द गरेर भागेका व्यवसायीले दुई दिनभित्रमा पालिकामा आएर आवश्यक कागजपत्र नबुझाए उनीहरूको पसलहरू सिल गरिने पालिकाले जनाएको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रका अनुसार पालिकाभित्रका सबै बजारलाई व्यवस्थित गर्न र उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुगमनलाई तीव्र बनाइएको हो। हालै अखाद्यन सामग्री, औषधि तथा अन्य सामग्री बिना स्वीकृति बिक्री भएको गुनासो आएपछि अनुगमन सुरु गरिएको हो।
अनुगमनका क्रममा मूल्यसूची, होल्डिङ बोर्ड, बिल–रसिद र आवश्यक कागजात अनिवार्य राख्न निर्देशन दिइएको छ। प्रक्रिया पूरा नगरेका पसललाई १५ दिनभित्र आवश्यक कागजात सहित पालिकामा बुझाउन भनिएको छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल विभाग, उद्योग वाणिज्य सङ्घ, गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता थियो।







