इटालीको लाम्पेडुसा टापु नजिक बिहीबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थी डुबेका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (UNHCR) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन्।

ग्रान्डीले सामाजिक सञ्जाल एक्समार्फत सन् २०२५ मा मध्य भूमध्यसागरमा मात्रै ७०० भन्दा बढी शरणार्थी तथा आप्रवासीले ज्यान गुमाइसकेको उल्लेख गर्दै यस प्रकारका दुर्घटनालाई रोक्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार समुद्रमा उद्धार कार्य विस्तार, सुरक्षित आव्रजन मार्ग, ट्रान्जिट देशहरूको सहयोग र दुर्घटनाप्रति प्रभावकारी प्रतिक्रिया अनिवार्य छ।

युएनएचसीआर इटालीका सञ्चार अधिकारीका अनुसार एजेन्सीले भग्नावशेष क्षेत्रमा जीवित व्यक्तिहरूलाई उद्धार गर्दै सहयोग गरिरहेको छ। अहिलेसम्म मध्य भूमध्यसागरमा मात्र यस वर्ष ६७५ जनाको मृत्यु रेकर्ड भएको छ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (IOM) का प्रवक्ता फ्लेभियो डि जियाकोमोका अनुसार करिब ९५ जना लिबियाबाट दुईवटा डुङ्गामा यात्रा गर्दै थिए। तर, एक डुङ्गा डुब्न थालेपछि सबै यात्रुहरू अर्को डुङ्गामा स्थानान्तरण गरिएको थियो। यात्रुहरूको अत्यधिक भारका कारण डुङ्गा पल्टिँदा ठूलो दुर्घटना भएको हो। उक्त दुर्घटनामा ६० जनालाई जीवित उद्धार गरिएको छ भने ३५ जना अझै बेपत्ता रहेको आशङ्का छ।

IOM का तथ्याङ्कअनुसार २०२५ अगस्ट १३ सम्म भूमध्य मार्गमा कम्तीमा ९६२ आप्रवासीको मृत्यु भएको छ। यसमध्ये मध्य भूमध्यसागरमा ६७५, पश्चिमी भूमध्यसागरमा १५५ र पूर्वी भूमध्यसागरमा १३२ जनाले ज्यान गुमाएका छन्।

सन् २०१४ देखि मध्य भूमध्य मार्गलाई IOM ले विश्वकै सबैभन्दा घातक आव्रजन मार्गको रूपमा पहिचान गरेको छ, जसमा अहिलेसम्म २५ हजार २६० भन्दा बढी मानिसको मृत्यु भएको र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार