भारतको सत्तारूढ गठबन्धन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी उपराष्ट्रपति चुनावका लागि महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णनलाई आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको छ।
यो घोषणा आइतबार भाजपा संसदीय बोर्डको बैठकपछि गरिएको हो। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टी अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाहलगायतका शीर्ष नेताहरू सहभागी थिए। सर्वसम्मत निर्णयमार्फत राधाकृष्णनको नाम टुङ्ग्याइएको बताइन्छ।
भारतको उपराष्ट्रपति चुनाव सेप्टेम्बर ९ मा हुने तय भएको छ भने नामांकन दर्ताको अन्तिम मिति अगस्ट २२ तोकिएको छ।
यसअघि उपराष्ट्रपति जगदीप धनखडले गत महिना स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। धनखडको राजीनामा असामान्य मानिएको छ, र केही विश्लेषकहरूले केन्द्र सरकारसँग बढ्दो असहमतिलाई पनि त्यसको पृष्ठभूमिमा रहेको बताउँछन्।
६७ वर्षीय राधाकृष्णन लामो समयदेखि सार्वजनिक जीवनमा सक्रिय रहँदै आएका छन्। राजनीतिक विश्लेषकहरूको भनाइमा संवैधानिक विषयप्रतिको उनको गहिरो समझ र प्रशासनिक अनुभवका कारण उनी उपराष्ट्रपति पदका लागि उपयुक्त उम्मेदवार ठहरिएका हुन्।
भारतको उपराष्ट्रपति पद राज्यसभाको सभापति मात्र नभई राष्ट्रपति अनुपस्थित हुँदा संवैधानिक जिम्मेवारी वहन गर्ने पद हो। यसैले अनुभव र स्वास्थ्य दुवै पक्ष यस भूमिकाका लागि महत्त्वपूर्ण मानिन्छन्।
राधाकृष्णनको नामांकनसँगै एनडीएले उपराष्ट्रपति पदमा आफ्नो पकड कायम राख्ने स्पष्ट सन्देश दिएको देखिन्छ।







