हल्दिबारी, भदौ ४। हल्दिबारी–३ स्थित शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरको दशौं वार्षिक साधारण सभा तथा तीज विशेष मिलन कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम मन्दिर सञ्चालक समितिका अध्यक्ष गोबिन्द बोहोराको अध्यक्षतामा र वडा नं. ३ का अध्यक्ष विष्णु प्रसाद ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि ओलीले धार्मिक मठ–मन्दिरलाई सबैको साझा धरोहर बताउँदै यसको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए। साथै, स्थानीय सरकार धार्मिक सम्पदा संरक्षणमा गम्भीर रहेको र सार्वजनिक हितका कार्यमा सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे।
सभामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन, रणकाली सामुदायिक वनका अध्यक्ष धनबहादुर सावा, पूर्व वडाध्यक्ष रोशन शिवाकोटी, गाउँपालिका प्रशासन प्रमुख बाबुराम ढकाललगायतको उपस्थिति थियो।
यस अवसरमा अध्यक्ष बोहराले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्दै आयतर्फ रु. ११ लाख ११ हजार ७ सय ३ र व्ययतर्फ रु. ८ लाख ५३ हजार ३ सय २४ रहेको जानकारी दिए। साथै, २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिँदा भेलाले सर्वसम्मतिले अनुमोदन गरेको थियो।
कार्यक्रम उपाध्यक्ष लालबहादुर कन्दङवाको स्वागत मन्तव्यबाट सुरु भई सचिव सालिकराम कार्कीले सहजीकरण गरेका थिए। विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मठ–मन्दिरलाई राष्ट्रिय सम्पत्ति भन्दै दीर्घकालीन संरक्षणका लागि सबैलाई सक्रिय रहन आह्वान गरेका थिए।







