काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँग सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल २०२५ आयोजना गर्ने भएका छन्।
बोर्डमा आइतबार भएको पत्रकार सम्मेलनमा आगामी असोज २० गतेदेखि कात्तिक १० गतेसम्म तीन सातासम्म महोत्सव सञ्चालन हुने जनाइएको हो।
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले महोत्सवले नेपाली कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने बताए। उनका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यसलाई सांस्कृतिक पर्वका रूपमा अघि सारिएको हो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा मात्र चिनिएको भए पनि यो महोत्सवमार्फत नेपालको सांस्कृतिक वैभव र धरोहरलाई विश्वभर परिचित गराउने लक्ष्य राखिएको बताए।
फेस्टिवल सञ्चालन समितिका प्रमुख तथा होटल व्यवसायी संघ (हान) का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ को लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै, महोत्सवले एक्सपेरिमेन्टल टुरिज्म प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रम संयोजक आयुषा श्रेष्ठका अनुसार महोत्सवमा ४० भन्दा बढी कार्यक्रम समेटिने छन्। इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो उत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र परिचयका रूपमा प्रस्तुत गरिने बताइएको छ।
“नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित हुने महोत्सवमा सांस्कृतिक प्रदर्शनी, संगीत–नृत्य, कला–कौशल, परम्परागत परिकार र जीवित संस्कृति अनुभव गर्ने अवसर पर्यटकलाई उपलब्ध हुनेछ।
उपत्यकाका पुराना शहर काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। साथै, राष्ट्रिय फोटो पत्रकार समूहले फोटो प्रदर्शनीमार्फत महोत्सवलाई देश–विदेशमा प्रचार–प्रसार गर्ने जिम्मेवारी लिने बताइएको छ।







