बिर्तामोड । झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित ड्रिमल्याण्ड कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा शुक्रबार बेलुकी एक युवा व्यवसायी मृत फेला परेका छन्।
बिर्तामोड–३ निवासी ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
ओमकार रेडिमिक्स र बुलडक्स पेवर्सका सञ्चालकसमेत रहेका प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग दिउँसो करिब ३ बजे घुम्न र पौडी खेल्न पार्क पुगेका थिए। तर पौडी खेल्ने क्रममा प्रसाईँ डुबेको भन्दै पार्क सञ्चालक जीवन ढुङ्गानाले राति करिब ८ बजे प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। तर प्रसाईँको मृत्युबारे शंका उत्पन्न भएको मृतक परिवारले दाबी गरेको छ।
साढे ३ फिट मात्र गहिरो रहेको स्वीमिङ पुलमा पौडी खेल्न जान्ने प्रसाईँ डुबेर मृत फेला पर्नु स्वाभाविक नदेखिएको भन्दै परिवारले घटना नियोजित हुन सक्ने आशंका व्यक्त गरेको छ। पुलभित्र हेरालु हुँदाहुँदै कसैले नदेखेको, आवश्यक मापदण्ड पालना नभएको र सुरक्षामा लापरबाही भएको परिवारको आरोप छ।
शवलाई थप अनुसन्धानका लागि धरानस्थित अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको समेत जनाएको छ।







