भद्रपुर, झापा । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, नगर समिति भद्रपुरले भदौ २१ गते नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ।

श्री वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता’ शीर्षकमा हुने प्रतियोगिताबारे समितिले भद्रपुर–७ स्थित नवदुर्गा मन्दिरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

समितिका अध्यक्ष नवीन भट्टराईका अनुसार जिल्ला समन्वय समिति झापाको सभाहलमा हुने कार्यक्रममा नगरभित्रका सामुदायिक र निजी गरी २९ वटा विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।

झापा ३ बाट निर्वाचित संघीय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रमुख अतिथि रहने उक्त कार्यक्रममा विजेतालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ।

प्रतियोगिताको निर्णायकमा साङ्गवेद संस्कृत विद्यालय चारपानेका प्राध्यापक सोमनाथ गौतम, अधिवक्ता लक्ष्मी खनाल कोइराला र मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य रहनेछन्।

समिति हालसम्म वृहत् रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरणलगायतका सामाजिक तथा धार्मिक कार्यक्रम गरिसकेको छ। आगामी दिनमा अपाङ्ग आश्रममा खाना खुवाउने र छठ पर्वका दिन मेची नदीमा निःशुल्क चिया वितरण गर्ने लक्ष्य समितिले लिएको जनाएको छ।

कार्यक्रममा श्री वैदिक सनातन धर्म संरक्षण समितिका केन्द्रीय सदस्य पं. शेषराज रिजाल प्रमुख अतिथि रहेका थिए। सो अवसरमा अध्यक्ष यादवप्रसाद पोखरेल, संयोजक कमलनयन निरौला र सचिव उदय खनाललगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार