झापा, भद्रपुर: भद्रपुर नगरपालिका–१० र सामुदायिक प्रहरी सेवा केन्द्र, चन्द्रगढीको संयुक्त आयोजनामा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सोमबार सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टेकबहादुर खड्का (काजी) ले वडाबासीको सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी र नागरिक दुवैको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनले वडामा निरन्तर सुरक्षा सुनिश्चित गर्न देखाएको गहिरो चासो र मेहनतको प्रशंसा गर्दै, समुदायका सचेत नागरिकको सहभागिताले अपराध न्यूनीकरणमा ठूलो भूमिका खेल्ने उल्लेख गरे।
संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुराम कार्की ले उपस्थित सबैलाई स्वागत गर्दै सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन गरेका सचिव खड्गबहादुर बुढाथोकीले शिक्षित र जागरूक समूहले सचेतनालाई व्यवहारमा रूपान्तरण गरी मानव बेचबिखन, चोरीजस्ता अपराध घटाउन सक्नेमा विश्वास व्यक्त गरे।
प्रशिक्षक प्रहरी निरीक्षक प्रविण श्रेष्ठ ले मानव बेचबिखनका विविध कारण, प्रलोभनका शैली तथा पीडित हुने अवस्थाबारे जानकारी दिएका थिए। विशिष्ट अतिथि प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले विगतका घटनाबारे तथ्याङ्क प्रस्तुत गर्दै हालसम्म १,०२० जना महिला, पुरुष र बालबालिकाको उद्धार भएको जानकारी दिए। उनले भद्रपुर क्षेत्रमा बढ्दै गरेका चोरीका घटनाप्रति सचेत रहन आग्रह गर्दै प्रहरी निगरानीलाई थप प्रभावकारी बनाउन नागरिक सहयोग आवश्यक रहेको बताए।
कानुनी पक्षमा दिपेन्द्र भट्टराई ले अपराध नियन्त्रणमा कानुनी माध्यमको प्रयोगको उपायबारे स्पष्ट पार्नुभयो भने, संस्थाका सल्लाहकार देवेन्द्र गौतम ले गरिबी, बेरोजगारी र अवसरको अभाव जस्ता सामाजिक कारणले मानिसहरू सजिलै प्रभावित हुने भएकाले सचेतनालाई सबैभन्दा प्रभावकारी रोकथामको उपायको रूपमा प्रस्तुत गरे।
सामुदायिक प्रहरी सेवा केन्द्र, चन्द्रगढीमा कार्यरत प्रहरी हवल्दार अमर कुमारी खड्का ले कार्यक्रम व्यवस्थापन र समाजमा सुरक्षित वातावरण निर्माणमा निरन्तर योगदान पुर्याइरहेको उल्लेख गरिएको छ।
संस्थाले कार्यक्रममा सहयोग पुर्याउने प्रमुख अतिथि, सचिव, प्रशिक्षक, कानुनी विज्ञ, प्रहरी हवल्दार र अन्य पदाधिकारी तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
संस्थाका प्रतिनिधिहरूले मानव बेचबिखन र चोरीजस्ता अपराध रोक्ने, संलग्न व्यक्तिको पहिचान प्रहरीलाई जानकारी दिने, कानुनी माध्यमबाट अपराध नियन्त्रणमा सक्रिय रहने, र सचेत नागरिक बन्ने प्रतिबद्धता दोहोर्याएका छन्।







