झापा, २१ असोज — देशभर फैलिएको ‘जेनजी प्रदर्शन’ का कारण कारागार र सुधारगृहहरूमा व्यापक अशान्ति उत्पन्न भएको छ। पछिल्ला तथ्यांक अनुसार करिब पाँच हजार ६९७ कैदी र बालबन्दी अझै फरार रहेका छन्।
गृह मन्त्रालयका अनुसार गत असोज १० गते देशका विभिन्न २८ वटा कारागार र नौ वटा बालसुधार गृहबाट कुल १४ हजार ५५३ बन्दीहरू भागेका थिए। तीमध्ये ८ हजार ८५१ जनाले पुनः आत्मसमर्पण गरी कारागार फर्किएका छन्। बाँकी फरार बन्दीहरू अझै फरार अवस्थामा छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले भने, “फरार कैदी र बालबन्दीको खोजी निरन्तर भइरहेको छ। धेरैलाई नियन्त्रणमा लिएर पुनः कारागार पठाइएको छ।”
सरकारले फरारहरूलाई सोमबारसम्म स्वेच्छाले फर्कन अल्टिमेटम जारी गरेको थियो। तर, म्याद सकिए पनि धेरै कैदी हराइरहेका कारण सरकारले विशेष खोजी अभियान सञ्चालन गरिरहेको छ।
सुरक्षाकर्मीहरूले देशका विभिन्न स्थानमा छापा मार्दै फरार कैदीहरूलाई नियन्त्रणमा लिन थालेका छन्। यसका लागि जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको छ।
‘जेनजी प्रदर्शन’ का क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। यस्तै, नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको सरकारी पुष्टिमा उल्लेख छ।
भाग्नेहरू झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, कास्की, तनहुँ, कपिलवस्तु, रुकुम पश्चिम, कैलाली, डडेल्धुरा लगायतका जेलहरूबाट थिए।
नेपालका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा हाल ३० हजारभन्दा बढी कैदीबन्दी छन्। पाँच जिल्लामा भने कारागार नै छैन।
कारागार प्रशासनले सबै फरार बन्दीलाई तत्काल फर्किन आग्रह गर्दै चेतावनी दिएको छ-“सरकारको आह्वानलाई बेवास्ता गर्नेहरूलाई कानुनबमोजिम कडा कारबाही हुनेछ।”







