हल्दिबारी, झापा । पछिल्ला केही दिनयता हल्दिबारी गाउँपालिकाका विभिन्न वडाहरूमा लगातार चोरीका घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ। दशैंको अवसरमा अधिकांश घरमा कोही नभएको मौका पारी चोरीका घटना बढेका हुन्।

शनिबार हल्दिबारी–२ सूर्य होली चोकका भानुकुमार मगरको घरमा परिवार टिका लगाउन आफन्तकहाँ गएको समयमा चोरी भएको प्रहरीले जनाएको छ। मगरले सुत्ने कोठामा राखिएको ब्यागबाट २ हजार रुपैयाँ हराएको बताएका छन्।

यसअघि सोही स्थानका केदारप्रसाद रिजालको घरमा दक्षिणपट्टिको ढोका फोरेर सुनका गरगहना र नगद गरी करिब १३ लाख रुपैयाँ बराबरको चोरी भएको थियो। त्यसैगरी, काजली उत्तरका राजन खतिवडाको घरमा पनि टिकाको दिन कोही नभएको मौका छोपी करिब ७ लाख मूल्यका सुनचाँदीका गरगहना चोरी भएको पीडितले बताएका छन्।

स्थानीय बासिन्दाहरूले चोरीका घटना बढ्नुमा लागू पदार्थको दुरुपयोग र बेरोजगारी मुख्य कारण रहेको बताउँछन्। प्रारम्भिक अनुसन्धान अनुसार हल्दिबारी क्षेत्रमा हाल करिब ५०० जना लागू पदार्थ सेवनकर्ता रहेको अनुमान गरिएको छ।

यसैबीच, छिमेकी कचनकवल गाउँपालिका–१ नन्दीडाँडामा गए राति चोरी गर्दै गरेका २९ वर्षीय ताला हेमरमलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरी चौकी पथरियामा बुझाएका छन्। उनी राजेश श्रेष्ठको खाजाघरको टिनको बार फोरेर भित्र पसेका थिए। होटलको गल्लाबाट ३ हजार रुपैयाँ हराएको प्रहरीले जनाएको छ।

स्थानीय सरकार र प्रशासनले बढ्दो चोरी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। हल्दिबारी गाउँपालिका तथा हल्दीबारीका ४ वटा प्रहरी चौकी बीच समन्वय गरी रात्री गस्ती र निगरानी प्रणाली सुदृढ गर्न सुझाव दिइएको छ।

विश्लेषण:
चोरीका घटना बढ्नु केवल सुरक्षाको कमजोरी होइन, सामाजिक चुनौती पनि हो। यदि लागू पदार्थ नियन्त्रण, रोजगार सृजना र सामुदायिक सचेतना सँगसँगै अघि बढाइएन भने हल्दिबारीमा अपराधको चक्र अझ फैलिन सक्ने स्थानीयले चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार