झापामा आएको भीषण बाढीले हजारौं परिवार प्रभावित बनाएको छ। धेरै घर डुबानमा परेका छन् भने धानखेती, अन्य कृषि र पशुपालनमा समेत ठूलो क्षति पुगेको छ।
प्रारम्भिक अनुमानअनुसार झापामा पाँच हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।जिल्ला प्रशासन कार्यालय झापाले राहत वितरण स्थानीय तहको नेतृत्वमा गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा संघीय सांसद लालबहादुर साँवा लिम्बू, कोशी प्रदेश सरकारका राज्यमन्त्री भूमि राजवंशी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
बैठकले प्रभावित परिवारको यथार्थ विवरण स्थानीय प्रहरी, रेडक्रस र स्थानीय तहको संयुक्त टोली मार्फत संकलन गर्ने, र आवश्यक राहत सामग्री यथाशीघ्र वितरण गर्ने निर्णय गरेको छ। स्वास्थ्य समस्या नदेखिन स्वास्थ्य कार्यालय र प्रादेशिक अस्पतालको अगुवाइमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू समेत खटाइनेछन्।
स्थानीय तहबाट मात्र राहत पर्याप्त नहुने भएकाले जिल्ला तहबाट पनि राहत जुटाइ आवश्यकतानुसार वितरण गरिनेछ। स्वतन्त्र वा प्रचारको लागि राहत वितरण गर्ने प्रयास पूर्ण रूपमा रोकिने पनि बैठकले निर्णय गरेको छ।अस्थायी राहतको रूपमा १५०० परिवारलाई खाद्य प्याकेज, १ हजार ब्ल्याङ्केट र १ हजार म्याट्रेस उपलब्ध गराइने तयारी भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशसँग समन्वय गरी आवश्यक सहयोग जुटाइने जनाइएको छ।
स्थानीय तहको नेतृत्वमा गरिएको राहत वितरणले बाढीपीडितहरूको जीवन रक्षा र आवश्यक सहयोग सुनिश्चित गर्ने लक्ष्य राखेको छ।







