झापा । ध्रुवतारा बहुउद्देशीय विद्युत उपभोक्ता समितिको सातौँ साधारण सभा समितिका अध्यक्ष भानुभक्त प्रसाईको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय छविलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
सभामा अध्यक्ष परसाईले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष नवीन मैनालीले संस्थाको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चुडालले ग्रामीण क्षेत्रमा विद्युत् सेवा विस्तारमा समितिको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सामुदायिक स्तरमा सञ्चालन भइरहेका यस्ता उपभोक्ता समितिहरूले गाउँगाउँमा ऊर्जा स्वावलम्बन र आर्थिक सशक्तीकरणमा सहयोग पुर्याइरहेको उल्लेख गर्नुभयो।
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका प्रमुख राममणि बजगाईं, गाउँपालिका वडा नं ४ का अध्यक्ष सन्तकुमार थापा, वडा नं ५ का अध्यक्ष खड्क लावती, सामुदायिक विद्युत जिल्ला महासङ्घका सचिव मोहन खनाल, र संस्थाका पूर्व अध्यक्ष धनकेश्वर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष धनकुमारी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव ओमराज राईले सहजीकरण गर्नुभएको थियो।
उक्त अवसरमा समितिले उत्कृष्ट उपभोक्ता घनेश्वर महत्व, फुलमाया तामाङ र हल्दिबारी टी स्टेट ब्लक बी लाई कदरपत्रसहित सम्मान गरेको थियो। समितिले नियमित रुपमा सेवा उपयोग गर्ने र समयमै बिल भुक्तानी गर्ने उपभोक्ताहरूलाई उदाहरणीय योगदानको रूपमा सम्मान गरेको जनाएको छ।
प्रतिवेदन अनुसार समितिमा हाल १६५६ सदस्य रहेका छन्। साना सिँचाइ अन्तर्गत १२५०, ठूला सिँचाइ अन्तर्गत ३१, गृह उपयोगका लागि १२५०, र उद्योग व्यवसायका लागि ९ उपभोक्ता जोडिएका छन्।
समितिले हाल १२ वटा ट्रान्सफर्मरमार्फत विद्युत सेवा पुर्याइरहेको छ जसमा ५० केभीए क्षमताका दुई र १०० केभीए क्षमताका १० ट्रान्सफर्मर रहेका छन्।
एक हजारभन्दा बढी पोलमार्फत उपभोक्तालाई सेवा दिइँदै आएको उल्लेख छ।
आर्थिक वर्ष २०८१/८२ मा समितिले ९४ लाख ३३ हजार ७७४ रुपैयाँ ७० पैसाको आर्थिक कारोबार गरेको अध्यक्षको प्रतिवेदनमा जनाइएको छ।
आगामी वर्ष समितिले विद्युत् सञ्जाल विस्तार, सिँचाइ प्रणाली सुधार र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा केन्द्रित हुने जनाएको छ।







