दमक, झापा / झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरभित्र लागुऔषध हिरोइन बिक्री वितरणको तयारीमा रहेका ८ जना व्यक्ति प्रहरीको फन्दामा परेका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार, असोज २५ गते साँझ करिब ५ बजे प्राप्त गोप्य सूचनाका आधारमा साजन थापाको घरमा गरिएको छापामारी क्रममा खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले सो घरभित्रबाट चस्माको खाली खोलभित्र लुकाइराखिएको करिब ७ ग्राम ८०० मिलिग्राम हिरोइन बरामद गरेको जनाएको छ। बरामद पदार्थ प्लास्टिक बाहेक तौलिएको बताइएको छ।

पक्राउ परेका व्यक्तिहरूमा घरधनी साजन थापा (२७) सहित इलाम, मोरङ र झापाका सात जना युवकहरू रहेका छन्। पक्राउ परेकामध्ये एक जना – मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल – यसअघि उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेका थिए। उनी भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा हिरासतबाट भागी फरार भएका थिए।

प्रहरीले पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले लागुऔषध सेवनका साथै वितरणको तयारी गरिरहेका थिए।

१. साजन थापा (२७) – वेलडाँगी शिविर, दमक–३

२. दिपेश तामाङ (३२) – चुलाचुली–३, इलाम

३. सनम राई (३२) – चुलाचुली–३, इलाम

४. आदित्य लिम्बु (१८) – दमक–३, झापा

५. पविन विश्वकर्मा (१९) – दमक–३, झापा

६. सुचन दर्जी (२५) – दमक–३, झापा

७. बिजय माझी (२५) – वेलडाँगी शिविर सेक्टर B2

८. निश्चल पोर्तेल (२०) – मिक्लाजुङ–८, मोरङ

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका आदित्य लिम्बु जेन्जी आन्दोलन मा इलाका प्रहरी कार्यालय दहुबाट प्रहरीको हतियार लुट्ने कार्यमा समेत संलग्न रहेका थिए।

पक्राउ परेकाहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी भोलि जिल्ला अदालतमार्फत  मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार