झापा, असोज ३१ — तिहार नजिकिँदै जाँदा झापामा प्रतिबन्धित पटाका बरामद हुने क्रम तीव्र बन्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो २४ घण्टाभित्र मात्रै करिब पाँच लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका नियन्त्रणमा लिइएका छन्।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८, शनिश्चरे बजारस्थित रमेश खनालको कोल्ड सेन्टरको पश्चिमपट्टिको गोदामबाट करिब तीन लाख मूल्यका पटाका बरामद गरिएको हो।
कार्टुन र बोरामा प्याक गरी राखिएका ती पटाका इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ।
त्यस्तै, बिर्तामोड–४ स्थित बस्नेत फ्रेस हाउस छेउमा बेवारिसे अवस्थामा करिब डेढ लाख रुपैयाँ बराबरका पटाका फेला परेका छन्।
यसैगरी, शिवसताक्षी–८ झिलझिलेस्थित पूर्व–पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सुरुङ्गाबाट दमकतर्फ जाँदै गरेको मे १ ह ३१२० नम्बरको अटोमा लुकाइराखिएका करिब ३५ हजार मूल्यका पटाका बरामद गरेको छ।
बरामद गरिएका सबै वस्तु हाल इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यसअघि पनि झापाका विभिन्न स्थानबाट करिब १० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रतिबन्धित पटाका बरामद भइसकेका छन्।
तिहारको समयमा यस्ता पटाकाको प्रयोगले आगलागी, शारीरिक चोटपटक र वायुप्रदूषणजस्ता जोखिम बढाउने भएकाले प्रहरीले निगरानी कडा बनाएको जनाएको छ। प्रहरीले नागरिकहरूलाई तिहारको उल्लास जिम्मेवार र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।







