हल्दीबारी झापा । यमपञ्चकको अन्तिम दिनका रूपमा मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ।
दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त-रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीयता, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ।
भाइटीकाको प्रारम्भ यमराज र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ। कथा अनुसार पाँच दिनसम्म यमराज दिदी यमुनाको घरमा अतिथि बनेर बसेका थिए, र दिदीले भाइको दीर्घायुका लागि गरेको पूजाबाट प्रेरित भएर यो पर्व सुरु भएको बताइन्छ।
यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई टिका लगाउने, मिठा परिकार खान दिने र ओखर, कटुस तथा भाइमसला अर्पण गर्ने परम्परा छ।
सप्त-रंगी टिका – रातो, सेतो, पहेंलो, बैजनी, हरियो, निलो र कालो – इन्द्रणीको प्रतीकका रूपमा लिइन्छ।
त्यस्तै कहिल्यै नओइलाउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीक मानिन्छ। टिका लगाउँदा दिदीबहिनीहरूले अष्ट चिरञ्जीवीको पूजा गरी भाइको दीर्घायु र सुखको कामना गर्छन्।
ओखर फुटाउने चलनले हाड मजबुत पार्ने, रोगव्याधी हटाउने र शरीरलाई शक्ति दिने विश्वास रहिआएको छ। यस अवसरमा दिदीबहिनीहरूले दाजुभाइलाई मिठाइ, फलफूल, वस्त्र र भेटी अर्पण गर्छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई माया र आशीर्वादका प्रतीकस्वरूप उपहार प्रदान गर्छन्।
जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन्, उनीहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका लगाउने परम्परा पनि छ -उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्छ।
भाइटीका केवल दाजुभाइबीचको पर्व मात्र नभई नेपाली समाजको साझा संस्कृति, प्रेम, सहिष्णुता र पारिवारिक एकताको प्रतीक हो।
वैदिक परम्परा, लोकसंस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जातजाति र धर्मका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने कार्य गरेको छ।
नेवारी समुदायमा यस पर्वलाई ‘किजा’ भनिन्छ र सोही दिन महापूजा गर्ने चलन पनि छ। यसरी भाइटीका नेपाली पहिचान, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउने बहुआयामिक पर्वका रूपमा मनाइन्छ।







