अभिषेक खतिवडा /झापा, कमल – सगुन युवा क्लब, मङ्गलबारे–५ द्वारा आयोजित १९औँ संस्करणको सगुन साङ्गीतिक साँझ तथा देउसी भैलो कार्यक्रम हिजो एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

संस्कृति संरक्षण र नयाँ पुस्तामा परम्परा तथा रीतिरिवाजको निरन्तरता कायम राख्ने उद्देश्यका साथ प्रत्येक वर्ष आयोजना गरिने यस कार्यक्रमको प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष तथा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई हुनुहुन्थ्यो।

कार्यक्रममा सामाजिक अगुवा दिलिप वान्तबा राई, ललितकुमार वान्तबा, ऋषिकेश सुवेदी, रेडक्रस उपशाखा लखनपुरका सभापति चन्द्र शाह लगायतका अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

साङ्गीतिक प्रस्तुतिको क्रममा पूर्वीय चर्चित कलाकार डम्बर नेपालीले आफ्नो सशक्त गायनमार्फत दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाएका थिए। साथै, स्थानीय कलाकार राजन पन्धक, लिलाराज निरौला, बिनिशा न्यौपाने र टेकनाथ अधिकारीले समेत उत्कृष्ट प्रस्तुति दिँदै कार्यक्रमलाई अझ रोचक र मनोरञ्जनात्मक बनाएका थिए।

त्यसैगरी, स्थानीय युवा मेदनी पोखरेलको नेतृत्वमा प्रस्तुत सामुहिक देउसी भैलोले कमल मङ्गलबारे क्षेत्रको मौलिक संस्कृति झल्काउँदै क्लबको समृद्धि र प्रगतिका लागि शुभकामना प्रकट गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हुकुमसिंह राईले सगुन युवा क्लबले युवापुस्तालाई एकताको सूत्रमा बाँध्दै सामाजिक रूपान्तरणको अभियानमा थप उदाहरणीय योगदान दिनुपर्नेमा जोड दिनुभएको थियो। साथै, उहाँले देशलाई नयाँ सोच, समाजलाई नयाँ दिशा र युवापुस्तालाई अवसर प्रदान गर्दै नविन कमल निर्माणमा सक्रिय सहभागिता जनाउन युवालाई आह्वान गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष देवेन्द्रराज आङ्दम्बेले गर्नुभएको थियो भने सञ्चालन तथा सहजीकरण क्लबका सचिव रोशन दाहालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार