✍️ इन्द्र प्रसाद ओल
‘पुराण’ शब्दको अर्थ हो— प्राचीन कथा। अठार पुराणका आफ्नै विशेषता र महिमा छन्। यी अठार पुराणहरूको गहिरो अर्थ बुझ्न सकियो भने धर्म, अर्थ, काम र मोक्ष — मानव जीवनका चारै पुरुषार्थ प्राप्त गर्न सकिन्छ।
पुराण सामान्य कथा मात्र होइन, विश्व साहित्यको प्राचीनतम ग्रन्थ हो। यो संसारको सबैभन्दा उत्कृष्ट आध्यात्मिक ग्रन्थ मानिन्छ। यसमा समेटिएको ज्ञान, दर्शन र नैतिकताको कुरा आज पनि उत्तिकै प्रासङ्गिक, अमूल्य र मानव सभ्यताको आधारशिला बनेको छ।
वेदहरूको भाषा र शैली सबैका लागि बुझ्न कठिन भएकाले, तथा वेदलाई सर्वसाधारणले सहजतापूर्वक ग्रहण गर्न नसक्ने भएकाले, वेदका गूढ तत्त्वहरूलाई जनसुलभ ढङ्गमा बुझाउन अठार पुराणहरूको रचना गरिएको हो।
वेद चार छन् — ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। यी सबै वेदहरूको सारलाई अठार पुराणहरूले समेटेका छन्। वेद र श्रीमद्भगवद्गीतामा निहित ज्ञानलाई कथा–प्रसङ्ग र संवादको माध्यमबाट जनसुलभ रूपमा व्याख्या गर्न पुराणहरू तयार गरिएको पाइन्छ।
जसरी दही मथेपछि नौनी निस्कन्छ, त्यसरी नै शास्त्रहरूको मन्थनबाट निस्किएको सारभूत तत्व नै ‘पुराण’ – अर्थात् शास्त्रको नौनी हो।
वदका जटिल तत्त्वहरूलाई कथा र संवादको माध्यमबाट सरल र रोचक रूपमा प्रस्तुत गरिएको छ। पुराणहरूको विषयवस्तुमा नैतिकता, दर्शन, भूगोल, खगोल, राजनीति, संस्कृति, सामाजिक परम्परा, विज्ञान र जीवन दर्शन सम्म समेटिएका छन्।
पुराणमा देवी–देवता, राजा–महाराजा, ऋषि–मुनि र साधारण जनमानवका चरित्रहरूका माध्यमबाट पौराणिक युगका सम्पूर्ण प्रसङ्गहरू उल्लेख छन्।
महर्षि वेदव्यासले अठार पुराणहरूलाई संस्कृत भाषामा संकलन गर्नुभएको हो। ब्रह्मा, विष्णु र महेश्वर (शिव) यी अठार पुराणका मुख्य देवता हुन्। यी त्रिमूर्तिहरू सृष्टि, पालन र संहारका प्रतीक हुन्, जसका स्वरूपमा सम्पूर्ण सृष्टिको रहस्य लुकेको छ।
अठार मुख्य पुराणहरूको अतिरिक्त सोह्र उपपुराण पनि छन्, तर यहाँ केवल प्रमुख अठार पुराणहरूको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ ।
१. ब्रह्म पुराण
सबैभन्दा प्राचीन मानिने यो पुराणमा २४६ अध्याय र १४,००० श्लोक छन्। सृष्टिको उत्पत्ति, गङ्गा अवतरण, रामायण र कृष्णावतारका प्रसङ्ग यसमा छन्। यस ग्रन्थबाट सृष्टिको आरम्भदेखि सिन्धु सभ्यता सम्मका तथ्यहरूको झलक पाइन्छ।
२. पद्म पुराण
५५,००० श्लोकयुक्त यो पुराण पाँच खण्डमा विभाजित छ — सृष्टिखण्ड, स्वर्गखण्ड, भूमिखण्ड, पातालखण्ड र उत्तरखण्ड। यसमा पृथ्वी, आकाश, नक्षत्र र जीवोत्पत्तिको वैज्ञानिक विवेचना गरिएको छ। नेपाल–भारतका प्रमुख नदी–पर्वतहरूको पनि विस्तृत वर्णन छ।
३. विष्णु पुराण
६ अंश र २३,००० श्लोकयुक्त यो पुराणमा भगवान् विष्णु, ध्रुव, कृष्णावतार र सम्राट पृथुको कथा छन्। यसमा सूर्यवंश र चन्द्रवंशका इतिहासका साथै हिमालय क्षेत्रको पनि उल्लेख पाइन्छ।
४. शिव पुराण
२४,००० श्लोकयुक्त यो पुराण सात संहितामा विभाजित छ। यसमा भगवान् शिवका लीला, कैलास पर्वत, शिवलिङ्ग, रुद्राक्षको महिमा र ग्रह–आधारित सातै दिनहरूको नामकरणको ज्ञान समावेश छ।
५. भागवत पुराण
१२ स्कन्ध र १८,००० श्लोकयुक्त यो ग्रन्थ भक्ति, ज्ञान र वैराग्यको अद्भुत संगम हो। यसमा विष्णु, कृष्णावतार, महाभारतपछिको इतिहास र द्वारिकानगर जलमग्न भएको प्रसङ्गसम्म समावेश छ।
६. नारद पुराण
२५,००० श्लोकयुक्त यो पुराण दुई भागमा विभाजित छ। पहिलो भागमा मृत्युपश्चातका कर्म र संस्कारको विधान छ, दोस्रो भागमा संगीतशास्त्रका सात स्वर, सप्तक र मूर्छनाको वर्णन गरिएको छ।
७. मार्कण्डेय पुराण
९,००० श्लोक र १३७ अध्याययुक्त यो पुराण छोटो तर गहन छ। यसमा ऋषि मार्कण्डेय र जैमिनि बीचको संवाद, देवी दुर्गा र श्रीकृष्णसँग सम्बन्धित कथा समावेश छन्।
८. अग्नि पुराण
३८३ अध्याय र १५,००० श्लोकयुक्त यो पुराणमा धनुर्वेद, गान्धर्व वेद र आयुर्वेदजस्ता उपवेदहरूको ज्ञान छ। साथै रामायण र महाभारतको संक्षिप्त सारांश पनि यसमा पाइन्छ।
९. भविष्य पुराण
१२९ अध्याय र १८,००० श्लोकयुक्त यो पुराणमा सूर्यको महिमा, बार्है महिनाको रचना, सर्प र विषविज्ञान, र भविष्यका वंशहरूको वर्णन छ — जसमा मौर्य, मुगल र ब्रिटिश शासकहरू सम्मको उल्लेख पाइन्छ।
१०. ब्रह्मवैवर्त पुराण
१८,००० श्लोकयुक्त यो पुराणमा ब्रह्मा, गणेश, तुलसी, लक्ष्मी, सरस्वती र कृष्णका कथा छन्। आयुर्वेदसम्बन्धी ज्ञान पनि यसमा संकलित छ।
११. लिङ्ग पुराण
११,००० श्लोक र १६३ अध्याययुक्त यो पुराणमा सृष्टिको उत्पत्ति, युग–कल्पको गणना र राजा अम्बरीषको कथा उल्लेख छ।
१२. वराह पुराण
१०,००० श्लोक र २१७ स्कन्धयुक्त यो पुराणमा वराह अवतार, भूगोल, स्वर्ग–पाताल र खगोल विज्ञानका तथ्यहरू छन्।
१३. स्कन्द पुराण
८१,००० श्लोकसहितको यो सबैभन्दा विशाल पुराण हो। यसमा नेपाल–भारतको भूगोल, गङ्गा अवतरण, १८ ज्योतिर्लिङ्ग, पशुपतिनाथ मन्दिर र बुद्धको उत्पत्तिसम्बन्धी कथा सम्म उल्लेख छन्।
१४. वामन पुराण
९५ अध्याय र १०,००० श्लोकयुक्त यो पुराणमा वामन अवतार र पृथ्वीका भूगोलिक वर्णनहरू छन्।
१५. कुर्म पुराण
१८,००० श्लोकयुक्त यो पुराणमा सागरमन्थन, चार युग, चार आश्रम धर्म र चन्द्रवंशी राजाको इतिहास समेटिएको छ।
१६. मत्स्य पुराण
१४,००० श्लोकयुक्त यो पुराणमा मत्स्य अवतार, सृष्टिको उत्पत्ति, ग्रहहरूको वर्णन र कच–देवयानीको कथा सम्म छन्।
१७. गरुड़ पुराण
१८,००० श्लोकयुक्त यो पुराण मृत्युपश्चातको अवस्था, पुनर्जन्म र आत्माको यात्राको वैज्ञानिक व्याख्या हो।
१८. ब्रह्माण्ड पुराण
१२,००० श्लोकयुक्त यो पुराणमा ग्रह–नक्षत्र, सृष्टिको मन्वन्तर र परशुरामको कथा समावेश छन्। अध्यात्म रामायण यसैको एक अंश मानिन्छ।
सनातन हिन्दू पौराणिक इतिहास जस्तै, अन्य सभ्यतामा पनि महामानव, देव, दैत्य, राजा र साधारण जनजीवनका कथा भेटिन्छन्। तर धर्म, संस्कार र शास्त्रीय ज्ञानको जरो भने पुराण र वेदमै निहित छ।
आजको दुर्भाग्य यो हो कि आफूलाई साहित्यकार भन्ने धेरैले यी मूल ग्रन्थहरू — वेद, गीता र पुराण — का विषयमा लेख्न हिचकिचाउँछन्। धर्मका कुरा गर्दा राजावादी, हिन्दुवादी वा यथास्थितिवादी भन्ने ट्याग लगाइन्छ। यही मानसिकता नै आजको समाजको विखण्डन र अनुशासनहिनताको कारण बनेको छ।
हामीले पुराना ग्रन्थहरूलाई पुज्ने मात्र होइन, बुझ्ने र उजागर गर्ने जिम्मेवारी लिनुपर्छ। साहित्यलाई संकुचित होइन, विशाल बनाऔं — चेतनासँग जोडिऔं।
श्रीमद्भगवद्गीता, वेद र वैदिक हिन्दू धारा आदि
✍️ इन्द्र प्रसाद ओल







