भद्रपुर, झापा । आगामी कार्तिक २२ गते हुने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनलाई लक्षित गर्दै ‘स्वतन्त्र युवा प्यानल’ले आफ्नो १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।

भद्रपुर नगरपालिका–९ र १० मा फैलिएको ४३०.५९ हेक्टर क्षेत्रफल र २,३८५ घरधुरी उपभोक्ता समेटिएको सो सामुदायिक वन झापाको महत्वपूर्ण वन क्षेत्रका रूपमा परिचित छ।

‘हरियाली वन हाम्रो सान — स्वतन्त्र युवाको नयाँ अभियान’ भन्ने नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतामा वन संरक्षण, पारदर्शिता र सामुदायिक सहभागितालाई केन्द्रमा राखिएको छ।

प्यानलका प्रतिनिधिहरूले सामुदायिक वनको सम्पदाको सदुपयोग र संरक्षणका लागि प्रभावकारी नीति लागू गर्ने, साथै चन्द्रगढ सिमसार र वन क्षेत्रको एकीकृत विकासमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका छन्।

त्यस्तै, वन्यजन्तु नियन्त्रण र प्रभावित उपभोक्ताका लागि राहत कोष स्थापना, कृषि, खेलकुद, महिला र ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन, र भद्रपुर–९ सिमेन्ट फ्याक्ट्रीदेखि नहरटोलसम्मको बाटो निर्माणलाई प्राथमिकतामा राखिएको बताइएको छ।

समूहका गतिविधि पूर्ण पारदर्शी बनाउने, विपन्न उपभोक्ताका लागि विशेष योजना लागू गर्ने, र मृत्यु संस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउने जस्ता जनमुखी योजनाहरू पनि प्रतिबद्धतामा समावेश छन्।

त्यसैगरी, स्थानीय रोजगारी सिर्जना गर्न श्रम र उत्पादनमा जोड, सुरक्षा पोस्ट स्थापना, र प्रत्येक महिनाको ‘युवाको आव्हान–जनश्रमदान कार्यक्रम’ सञ्चालन गर्ने घोषणासमेत गरिएको छ।

स्वतन्त्र युवा प्यानलका प्रतिनिधिहरूका अनुसार, उनीहरूको अभियान राजनीतिक हस्तक्षेपभन्दा पर रहेर समुदायको वास्तविक आवश्यकता र विकासमा केन्द्रित हुनेछ।

उनीहरूले भनेका छन्, “यो वन मात्र हरियालीको प्रतीक होइन, सामुदायिक एकता र आत्मनिर्भरताको आधार हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार